• ५ जेठ २०८१, शनिबार

रोजाइ नेपाली ब्रान्ड

blog

काठमाडौँ,  असार ६ गते । अहिले युवा पुस्तादेखि पाको उमेरका महिला–पुरुष आफूलाई फेसनेबल देखाउन लागिपरेका छन् । त्यसैले त धेरैको रोजाइमा पर्ने गर्छ राम्रो र नाम चलेका ब्रान्डका सामान  । धेरैजसोमा ब्रान्डेड सामग्री नै खरिद गर्ने मनस्थिति विकसित भइरहेको छ ।

ब्रान्डेड सामानले आफ्नो व्यक्तित्व विकास गर्नका साथै टिकाउ तथा तथा फरक देखिने कारण मानिसहरू ब्रान्डेड सामानतर्फ आकर्षित भएका हुन् । राजधानीमा मात्र होइन मुलुकका अन्य प्रमुख सहरमा ब्रान्डेड सोरुमको सङ्ख्या बढ्दो छ ।

एडिडासको सोरुममा भेटिनुभएका ५८ वर्षीय रमेश पुजारीले बिहान फुटसल खेल्न जुत्ता खरिद गर्न आएको बताउनुभयो । उहाँले अरू जुत्ता एक महिना पनि नटिक्ने र एडिडासको दुई वर्षसम्म चल्ने अनुभव व्यक्त गर्दै आरामदायक र आकर्षक पनि देखिने हुँदा मन परेको बताउनुभयो । 

आफ्नो शरीरलाई स्वस्थ राख्न फुटसल खेलेको हो । दिनभरि काममा व्यस्त भइन्छ आफ्नो शरीरलाई समय नै दिन सकिँदैन, उहाँले भन्नुभयो । व्यापारी सञ्जय महर्जन भन्नुहुन्छ, “सामान्यदेखि उच्च वर्गसम्मका लागि मूल्य समायोजन गरी सोहीअनुरूप सामान उपलब्ध गराउँदै आएका छौँ । सर्वाधिक रुचाइएको ब्रान्ड एडिडासको अन्य कुराभन्दा पनि ब्रान्ड हेर्ने बढी आउनुहुन्छ ।” 

युवापुस्ताको जमात बढी भए पनि अन्य उमेरका पनि खरिद गर्न आउने जानकारी दिँदै महर्जनले अहिले फेसनेबल देखिनु नै ठूलो कुरा मान्छ, पैसा र महँगो सामान भन्दा पनि राम्रो र आरामदायक खोज्छन् । जति रुपियाँ हाल्न पनि तयार हुन्छन्, उहाँले आफ्नो अनुभव सुनाउनुभयो । 

विशेषतः स्पोर्टस् सामग्री बिक्री गर्दै आएको एडिडास नेपाल भित्रिएको पनि लामो समय भइसकेको छ । एडिडासका खेलकुदसँग सम्बन्धित जर्सी, फुटबल, जुत्ता, अन्य स्पोर्टस् वेयरलगायत खेलकुदका सामग्री विश्व प्रख्यात छन् । एडिडासका सामग्री बढी टिकाउ र लगाउँदा निकै सहज हुने महर्जनले बताउनुभयो ।

यता चेल्सीमा ए लेभस अध्ययनरत क्रिस डङ्गोल पनि ब्रान्डेड सामान खरिद गर्ने सन्दर्भमा कन्जुस्याइँ गर्नुहुन्न । उहाँ भन्नुहुन्छ, “बरु १० वटा किन्ने ठाउँमा एउटा सामान किन्ने तर ब्रान्डेड नै किन्ने ।” एप्पलको स्मार्ट घडी, नाइकका महँगा जुत्ता, टिसर्ट तथा क्याप लगाउनुहुन्छ उहाँले । ब्रान्डले साथीभाइका अगाडि छुट्टै स्थान बनाउँछ, डङ्गोलले ब्रान्डेड लगाउन थालेपछि अरूमा आँखा नै नजाने प्रतिक्रिया दिनुभयो । 

स्पेनिस ब्रान्ड जाराका टिसर्ट, पाइन्ट, फर्मल कोट पनि लगाउने उहाँले बताउनुयभो । विशुद्ध छालाका सामग्री बिक्री गर्ने बेन्टली संसारकै उत्कृष्ट ब्रान्डमध्ये एक हो । एक पटक बेन्टलीका उत्पादन प्रयोग गरेपछि अन्यमा जान कठिन हुने यसका प्रयोगकर्ता बताउँछन् । लगाउँदा निकै सजिला तथा हेर्दा आकर्षक बेन्टलीका जुत्ता धेरैको रोजाइमा पर्ने गरेका छन् ।

स्ट्रेलियाबाट बिदामा नेपाल आउनुभएका सुरवी जोशीलाई बेन्टलीको जुत्ता उत्कृष्ट लाग्ने बताउनुभयो । विशेषगरी हाई हिलको जुत्ता लगाउन धेरै सजिलो हुन्छ भने खुट्टा पनि दुखाउँदैन । यसैगरी फेसनेबल लुगाका लागि कासाले आफ्नो छुट्टै ब्रान्ड स्थापना गरिसकेको छ । फरमल वेयरका लागि नायिकादेखि आममानिसको रोजाइमा कासा पनि परेको छ । 

विशेषगरी काठमाडौँका प्रायः सबै मल ब्रान्डेड सोरुमले भरिएका छन् भने मुख्य-मुख्य स्थान दरबारमार्ग, कुमारीपाटी, नक्साल, बालुवाटार, महाराजगञ्ज आदि पनि ब्रान्डेड सोरुममय देखिन्छन् । नेपालीमा मल र सुपरमार्केट धाउने प्रचलनसमेत ह्वात्तै बढेको छ ।

सिभिल मल, काठमाडौँ मल, रञ्जना मल, स्टार मल, सिटी सेन्टर, लबिम मल, शेर्पा मल, राइजिङ मल, सीटीसी मल, पिपुल्स प्लाजा, केएल टावरजस्ता ठूला मल तथा सपिङ सेन्टरहरू ब्रान्डेड सोरुमले ढाकिएका छन् । केही नाम चलेका ब्रान्ड एडिडास, नाइक, जारा, बेन्टली, यूएफओ, डुल्ला,  मिटर्सबर्ग, ट्याग ह्युगर, टिम्बरल्यान्ड, कन्भर्स, द नर्थ फेस, जिनी एन्ड जोनी, डियोर, लिभाइज, सोनाम,एभरेष्ट आउटफिट, लुक्ला आउटडोर, मकालु आउटफिट, राइको,  कासा रहेका छन् ।