शेरबहादुर सार्की
बाजुरा, साउन २ गते । बाजुराको किम्नी गाउँ पुस्तौँदेखि अहिलेसम्म सडक सञ्जालबाट वञ्चित हुँदै आएको छ । त्रिवेणी नगरपालिका वडा नं –५ मा रहेको यो किम्नी गाउँमा दुइ सय ७५ घरपरिवारको बसोबास छ । यो गाउँमा अहिले झन्डै एक हजार छ सय जनसङ्ख्या छ ।
पुस्तौँदेखि अहिलेसम्म गाउँमा सडक सञ्जालको सुविधा नहुँदा यहाँका स्थानीयलाई यतिबेला वडादेखि पालिकासम्म आउजाउ गर्न निकै सास्ती खेप्दै आउनुपरेको छ । बाजुराको नौ वटै स्थानीय तहका ६८ वडा यतिबेला सडक सञ्जालको पहुँचमा छन् । तर यहाँको त्रिवेणी नगरपालिका वडा नं –५ को किम्नी गाउँ भने अझै सडक सञ्जालबाट वञ्चित हुँदै आएको छ ।
हामीले धेरै पटक गाउँमा सडक जोडिदिनुपर्यो भनेर नगरपालिकासँग निवेदन गर्दै आएको भए पनि उतादेखि कुनै सुनुवाइ नगरेको त्रिवेणी नगरपालिका वडा नं –५ का स्थानीय मानबहादुर बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ यहाँका ८ वडा दुई चार वर्ष पहिला सडक सञ्जालमा जोडिएका हुन् । तर हाम्रो यो किम्नी गाउँ भने पुस्तौँदेखि सडक सञ्जालबाट वञ्चित हुँदै आएको छ । गाउँ सडक सञ्जालमा नजोडिएकोले यहाँका स्थानीयलाई गाउँदेखि वडा र पालिकासम्म आउ जाउ गर्न निकै सास्ती खेप्नुपरेको छ । ”
बिरामी हुँदा अहिले स्टेचरकाे सहाराले बाम्का लिने गरेका छौ । गाउँदेखि उता भिरमा बाटो भएकोले त्यहाँ स्टेचरमा बिरामी राखेर लिन निकै गाह्रो पर्छ । बोक्नेले पनि त्यो भिरमा ज्यान जोखिममा राख्नुपर्ने हुन्छ । तर पनि नगरपालिकाले हाम्रो वडामा सडक पुर्याउन पहिलेदेखि अहिले आनाकानी गर्दै आएको बुढाले बताउनुभयो ।
किम्नी गाउँ यहाँका अन्य बस्तीभन्दा निकै दुर्गम हो । यहाँका स्थानीयले अहिले पनि निकै डरलाग्दो भिरको बाटोमा गाउँदेखि पालिका र पालिकादेखि गाउँमा आउने जाने गर्छन् । यहाँ सबैभन्दा पहिला सडकको आवश्यक छ । तर पनि अहिलेसम्म यो गाउँमा सडक पुगेको छैन । यहाँका स्थानीयले नगरपालिकालाई पटक पटक गाउँमा सडक पुर्याइदिनका लागि पहल गर्दै आएको भए पनि यता नगरपालिकाले उनीहरूको त्यो मागलाई कुनै सुनुवाइ गरेको देखिँदैन ।
जिल्लाका अन्य ६८ वडा यतिबेला सडक सञ्जालको पहुँचमा छन् । ती वडामा सडक पुगेसँगै अहिले यहाँका स्थानीयले गाउँमा उत्पादन गरेका तरकारी बस्तुलाई बजारसम्म पुर्याउने गरेका छन् ।
जिल्लाका दुर्गम गाउँ बस्तीसमेत पछिल्लो समय सडक सञ्जालको पहुँचमा छन् । त्यहाँका स्थानीय तहले नागरिकको सुविधाका लागि सडक गाउँमा पुर्याउने काम गरेसँगै उनीहरू अहिले सडक सञ्जालको पहुँचमा रहेका हुन् । गाउँमा सडक पुगेपछि अहिले उनीहरूले विभिन्न कृषि उत्पादन सामग्री बजारसम्म पुर्याउने अवसर प्राप्त गरेका छन् ।
तर त्रिवेणी नगरपालिकाको किम्नी गाउँ भने सडक सञ्जालको पहुँचदेखि टाढा रहँदै आएको छ । यहाँ नत खानेपानी न त सडक न त कुनै गतिला सरकारी कार्यालयका भवन निर्माण हुने गरेका छन् ।
यहाँका विद्यालयको अवस्थामा पनि निकै नाजुक छ । नगरपालिकाले सौतेलो व्यवहार देखाउँदै आएकोले किम्नी लामो समयदेखि अहिलेसम्म सडक सञ्जालको पहुँचदेखि टाढा रहँदै आएको त्रिवेणी नगरपालिका –५ का वडा अध्यक्ष डिल्ली बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो , “यहाँका नौ वडामा ६ वडा काँग्रेस निकट छन् । किम्नीमा म सूर्य चिन्हबाट आएकोले मेरो वडालाई नै प्रभावित गर्दै आएका हुन् । मैले यहाँका स्थानीयको माग अनुसार बिजुली खानेपानी सडक विद्यालय स्वास्थ्य लगायतका भौतिक पूर्वाधार निर्माणका योजनाका लागि प्रत्येक वर्षमा नगरपालिकामा निवेदन गर्दै आएको भए पनि त्यहाँदेखि कुनै सुनुवाइ गर्दैनन् । ”
यहाँका अन्य ६ वडाका साथीहरूले नगरपालिका वडाका लागि लिएका प्रस्ताव पास हुने र ती वडामा सडक खानेपानी स्वास्थ्य शिक्षा लगायतका विकास निर्माणमा योजना पास हुने गरेका छन् । तर मेरो र अन्य दुई वडाबाट लिएका त्यस्ता खाले प्रस्ताव भने कहिले पनि पास हुँदैनन् । यसरी मैले यहाँ देखि जनताका लागि माग गरेका विकास निर्माणका योजना पास नहुँदा अहिले यो किम्नी गाउँ जिल्लाकै एक विकट क्षेत्रको रूपमा चिनिने गरेको छ ।
अहिले यहाँका स्थानीयलाई सडकको निकै आवश्यक छ । सडक नहुँदा यहाँका सुत्केरी महिला तथा अन्य कोही बिरामी हुँदा अस्पतालमा लान निकै समस्या हुने गरेको छ ।
यहाँका नागरिकलाई यस्तो खालको समस्या हुने गरेको भए पनि नगरपालिकाले भने मलाई सौतेलो व्यवहार देखाउँदा म मात्र होइन यहाँका एक हजार छ सय जनाले दुःख भोग्दै आएको अध्यक्ष बुढाले बताउनुभयो ।
यता भिरको बाटोमा सडक लान समस्या भएकोले त्यहाँ अहिलेसम्म सडक पुर्याउन नसकेको त्रिवेणी नगरपालिकाले जनाएको छ ।