• २ साउन २०८२, शुक्रबार

सडकको खाल्टाखुल्टीले हैरानी

blog

गुलरिया समाचारदाता   

गुलरिया (बर्दिया), साउन २ गते । बर्दियाको गेरुवा गाउँपालिकाको मुख्य सडक राजापुरको मङ्गलपुरदेखि गेरुवा–इन्टेक जोड्ने सडकमा खाल्टाखुल्टी हुँदा आवतजावत गर्न समस्या परेको छ । २०८० असोजसम्म सडक कालोपत्रे गर्ने गरी ठेक्का भए पनि निर्माण कम्पनीले काम नगर्दा स्थानीयले सास्ती पाएका छन् । 

“सडक कालोपत्रे हुन्छ भन्ने सुनिएको थियो अहिले त खाल्टाखुल्टीसम्म पुर्दैनन्,” गेरुवा गाउँपालिका–१, जनकनगरका तिलकराम थारूले भन्नुभयो, “बजेट परेर पनि बाटो नबन्दा धेरै नै दुःख भएको छ । सडक निर्माण भएमा गेरुवा गाउँपालिका दुर्गमबाट सुगम बन्ने थियो ।” बाटो नबन्दा गेरुवा गाउँपालिकावासी अस्पताल  र सदरमुकामसम्म जान सास्ती भोग्नु परेको छ । गेरुवा गाउँपालिकाका अन्य भित्री सडक कालोपत्रे भए पनि गाउँपालिकाअगाडिकै सडकमा खाल्टाखुल्टी रहेको छ । 

गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले सडक खाल्टाखुल्टी भएको हुनाले बर्सातको समयमा आवतजावत गर्न कठिन भएको बताउनुभयो । ठेकेदार र हुलाकी सडक आयोजनालाई खाल्टाखुल्टी भए पनि पुर्न आग्रह गर्दासमेत अटेरी गरेको बताउनुभयो । अध्यक्ष केसीले सङ्घीय सरकारले ठेक्का लगाएको बाटो भएको हुनाले गाउँपालिकाले केही पनि गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भित्री सडक बनायौँ मुख्य सडक नबनेर दुःख भएको छ ।” 

२०७७ चैतदेखि २०८० असोजसम्म निर्माण सम्पन्न गर्ने गरी २७ किलोमिटर सडक निर्माणका लागि ५३ करोड १२ लाख ६१ हजार रुपियाँमा कान्छाराम राजेन्द्र जेभीसँग निर्माण सम्झौता भएको थियो । कोरोनालगायत विविध कारण देखाएर पहिलो पटक २०८१ असोजसम्म र दोस्रो पटक २०८२ फागुनसम्म म्याद थप गरिएको हो । सडक निर्माणको गति हेर्दा समयमा सकिने अवस्था देखिँदैन । निर्माण सम्झौता भएको चार वर्ष चार महिना बितिसक्दासमेत हालसम्म एक मिटरसमेत कालोपत्रे भएको छैन । 

गेरुवा गाउँपालिका–६, नौरङ्गाका परशुराम चौधरीले चलनचल्तीको बाटोमा दुई महिनाअगाडिदेखि बेस थुपारेर स्थानीयलाई सास्ती दिएको बताउनुभयो । हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले हालसम्म ३१ पटक पत्र काटेर सडक निर्माणका लागि ताकिता गर्दासमेत निर्माण कम्पनीले अटेरी गरेको बताउनुभयो ।