• २ साउन २०८२, शुक्रबार

घर सिँगार्ने माटोको जोहोमै बित्छ दिन

blog

रलिङ समाचारदाता 

रलिङ (हुम्ला), साउन १ गते । गाउँमा चाडबाडसँगै बर्खेबाली लगाउन सबै व्यस्त देखिन्छन् । धानबालीदेखि कोदो रोप्न स्थानीय खेतबारीमा जम्मा हुँदा चहलपहल बढेको छ । विशेष गरी असारमा जिल्लाका किसानलाई चटारो हुने गरेको कुनै नौलो कुरा होइन । 

साउने सङ्क्रान्तिलाई धार्मिक रूपले पूजाआजाका माध्यमबाट शुद्ध बनाउन यो बेला महिलाहरू घर पोत्न रातो माटो र कमेरो माटो पाउने ठाउँमा लाइन लागेर पालो पर्खन्छन् । यो बेला पूरै घर पोत्नुपर्ने प्रचलन भएकाले घन्टौँ हिँडेर माटो ल्याउने गरेको अदानचुली गाउँपालिका–२ की कुन्ता महताराले बताउनुभयो । “कमेरो माटो त आफ्नै वडाको वनमा पाइन्छ तर रातो माटो लिन चार÷पाँच घण्टा नै हिँड्नुपर्ने बाध्यता रहेको महताराको भनाइ छ ।”

अदानचुली–३ की असाडी थापालाई माटो ल्याउन जाने चहलपहल भएपछि मात्रै चाड आए जस्तो लाग्छ । नजिकै रातो माटो नपाइने भएपछि गाउँका सबै महिला जम्मा भएर अदानचुली–३ मा पर्ने स्थानमा माटो लिन जान्छन् । पक्की घर हुनेहरू चुनाले घर पोत्छन्, कच्ची घरमा रातो माटो र कमेरो नै लगाउने गरेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “माटो निकाल्दा बोटबिरुवा सुक्न थालेको भन्दै कतिपय ठाउँमा माटो खन्न बन्द गरेपछि भने हामीलाई दुःख थपिएको छ, घर शुद्ध पार्न वनजङ्गलमा माटो खोज्दै भौँतारिनु परेको छ । घर पोत्ने रातो माटो र सेतो कमेरो जहाँसुकै पाइँदैन, दसैँमा मात्र नभई हरेक स्थानीय चाडमा कसको घर चिटिक्क छ भनेर दाँजिन्छ । त्यही भएर पानीले पखालेको भित्तो टाढाबाट हेर्दै टलक्क टल्किने गरी पोत्नु पर्छ ।” 

गाउँमा पक्की घर छिटपुट मात्रै छन् । स्थानीय सबै चाडमा नै घर चोख्याइन्छ । साउन महिनामा मष्टो र मदाना देवताको कुलपूजासमेत हुने भएकाले घर चिटिक्क पारिन्छ । त्यसैले पनि अहिलेदेखि नै आफूहरू माटोको जोहोमा लागेको स्थानीय सुनाउँछन् । घरको माथिल्लो भागमा सेतो र तल रातोले भित्ता पोतिन्छ । कतिपयले धार्मिक मान्यताले पूरै घर रातो माटोले पोत्ने गरेका छन् । खाल्डोबाट आफैँ खनेर महिलाले माटो ल्याउने गरेका छन् । देवीदेवता रिसाउने भएका कारण बजारको रङ लगाएर शुभ हुँदैन । माटोको खानी असुरक्षित भएपछि माटो खन्न गएका महिला कतै हराउने र पुरिने गरेको अदानचुली–२ की डल्ली भण्डारीले बताउनुभयो । 

घरबाट १० किलोमिटर टाढाको खानीबाट रातो माटो घरमा ल्याइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एक/दुई दिनमा घर पोत्ने हो । पोतेपछि घर पवित्र हुन्छ । साउने सङ्क्रान्तिअघि घर लिपपोत गरेपछि मनै शान्ति हुन्छ । झ्यालढोकामा रातोे रङ लगाउने गरिन्छ ।” माटो खन्दा धेरै ठुलो खाल्डो भएका ठाउँमा पुग्दा मात्र डर लाग्ने तर सामान्य खाल्डोमा कुनै डरको महसुस नहुने अदानचुली–२ की डल्ली भण्डारीको भनाइ छ । माटो खन्दै गर्दा परेको ओढारमाथिबाट कतिबेला खस्छ भन्ने टुङ्गो हुँदैन, एक जना महिलाले माटो खस्छ भनेर चिहाउने अरू सबैले ओढारभित्र पसेर माटो खन्ने गरेका छन् । माटो खन्न एक्लै गएका धेरै जना महिलाले पुरिएर ज्यान गुमाइसकेको उहाँ बताउनुहुन्छ । महिलालाई माटो खन्दा ज्यानको बाजी लगाउनु परेको भण्डारीले बताउनुभयो ।