• २ साउन २०८२, शुक्रबार

स्थानीय तहको पुँजीगत खर्च सत्तरी प्रतिशत

blog

योजना अनुगमन गर्दै अनुगमन टोली । तस्बिर : शङ्कर केसी

शारदा समाचारदाता

सल्यान, साउन २ गते । सल्यानका नौ स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा ७० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गरेका छन् । विगतमा पुँजीगत खर्च अर्थात् विकास खर्च कम हुने गरेको भनेर आलोचना खेप्दै आएका जिल्लाका स्थानीय तहले चालु आव २०८१/८२ मा भने सुधार गरेका छन् । विनियोजित बजेटमध्ये जिल्लाको शारदा नगरपालिकाले सबैभन्दा बढी ८८.३६ प्रतिशत पुँजीगत खर्च गरेको छ । त्यसपछि दार्मा गाउँपालिकाले ८६.३२ प्रतिशत, छत्रेश्वरी गाउँपालिकाले ८५.०३ प्रतिशत र सिद्धकुमाख गाउँपालिकाले ८३.०८ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।

कपुरकोट गाउँपालिकाको ७८.८९ प्रतिशत, कुमाख गाउँपालिकाको ७६.८७ प्रतिशत, बागचौर नगरपालिकाको ७४.३४ प्रतिशत, कालीमाटी गाउँपालिकाको ७४.२६ प्रतिशत र त्रिवेणी गाउँपालिकाको ७०.९८ प्रतिशत पुँजीगत खर्च भएको सार्वजनिक विवरणमा उल्लेख छ । 

जिल्लाको वनगाढ कुपिन्डे नगरपालिकाको पुँजीगत खर्च भने ६२.२२ प्रतिशतमा सीमित भएको छ । यो स्थानीय तहको पुँजीगत खर्च जिल्लामा सबैभन्दा कम हो । स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारीको परिपक्वता र अनुभव वृद्धिसँगै कानुन अनुसारको डिजिटल प्रणाली, उपभोक्ता, निर्माण व्यवसायीमा आएको सचेतना, नागरिक समाज र सञ्चार माध्यमको खबरदारी तथा सङ्घीय र प्रदेश सरकारबाट समयमै निकासा आएका कारण पुँजीगत खर्चमा प्रगति देखिएको शारदा नगरपालिका सल्यानका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो । छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुप्रसाद योगीले विकासनिर्माणका योजना सम्पन्न गर्नुपर्नेमा जनप्रतिनिधिको दृढता र एकता अनि कार्यान्वयनमा कर्मचारीको सक्रियता एवं उपभोक्ताको इमानदार सहभागिताले समयमै निर्माण सक्न सहयोग गरेको बताउनुभयो । 

विगतमा योजना छनोट, ठेक्का प्रक्रिया र भुक्तानी कार्यमा अत्यधिक ढिलाइ हुने गरेकोमा अहिले सिधै प्रणालीमा आधारित कार्यप्रवाहले समयमै कार्य सम्पन्न गर्न सहज भएको प्रमुख प्रशासकीय अधिकृत एवं आर्थिक प्रशासन प्रमुखको बुझाइ छ । स्थानीय तहमा प्रयोगमा ल्याइएको डिजिटल प्रणाली (सूत्र) को सही उपयोगले पनि योजना निर्माणदेखि कार्यान्वयन र भुक्तानीसम्मको प्रक्रिया छरितो भएको उहाँहरूको भनाइ छ ।