साहारा लिम्बू
फुङलिङ, साउन २ गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ तुलनामा आर्थिक वर्ष २०८१/०८२ झण्डै दोब्बरले राजस्व सङ्कलन गरेको हो ।
नापी कार्यालय ताप्लेजुङका प्रमुख तथा नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०८१/०८२ मा कुल २८ लाख ४६ हजार ८२५ रुपियाँ राजस्व उठाइएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा कुल १६ लाख ५४ हजार ८३७ रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ११ लाख ९१ हजार ९८८ रुपियाँ बढी राजस्व सङ्कलन भएको अधिकृत इन्जिनियर श्रेष्ठको भनाइ छ ।
श्रेष्ठका अनुसार गत आव २०८१/०८२ मा क्षेत्रिय किताब उतारमार्फत चार हजार ९८० रुपियाँ, नक्सा बिक्रीमार्फत पाँच लाख ७३ हजार ६१०, फिल्ड रेखाङ्कनबाट २२ लाख ६५ हजार ६२५ र कित्ता एकीकरणबाट दुई हजार ६ सय रुपियाँ राजस्व रेखाङ्कनबाट सङ्कलन गरिएको छ । कार्यालयले स्थानीय तहसँगको फिल्ड रेखाङ्कनमा राजस्व अनिवार्य गरेकाले झण्डै दोब्बरले वृद्धि भएको नापी अधिकृत श्रेष्ठले बताउनुभयो ।
कार्यालयका अनुसार अघिल्लो आव २०८०/०८१ मा क्षेत्रिय किताब उतारमार्फत दस हजार सात सय रुपियाँ, नक्सा बिक्रीमार्फत चार लाख आठ हजार ९३०, फिल्ड रेखाङकनबाट ११ लाख ६१ हजार ८५४ र कित्ता एकीकरणबाट ७३ हजार तीन सय ५३ रुपियाँ राजस्व सङ्कलन गरिएको थियो ।
गत आर्थिक वर्षमा १३४ ओटा क्षेत्रीय किताब उतार, पाँच हजार १६० ओटा नक्सा बिक्री, दुई सय वटा फिल्ड रेखाङ्कन र ३६ वटा कित्ता एकीकरण गरेको कार्यालयले जनाएको छ । चार सय ५१ वटा कित्ताकाट कार्य समेत भएको जनाइएको छ । जसमध्ये राजिनामाको दुई सय २३ ओटा, अंशबण्डाको एक सय नौ वटा, अदालतको ५२ र बकसपत्रको ६७ वटा कार्य भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा भने क्षेत्रीय किताब उतारका एक सय २८, नक्सा बिक्री तीन हजार पाँच सय ९६, फिल्ड रेखाङ्कनमा एक सय १२ र कित्ता एकीकरणको २० ओटा मात्र कार्य सम्पन्न भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।