हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), साउन २ गते । मुस्ताङमा एक वर्षको अवधिमा साढे सात लाखभन्दा बढी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । बेनी–जोमसोम–कोरला सडक, पोखरा–जोमसोम हवाई मार्ग तथा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा स्वदेशी र विदेशी पर्यटक गरी सात लाख पाँच हजार ७७९ पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको पर्यटकको तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी विशाल अधिकारीका अनुसार विदेशी पर्यटक एक लाख ५० हजार ४५३ जना र स्वदेशी पर्यटक पाँच लाख ५५ हजार ३२६ जना रहेका छन् ।
एक वर्षको अवधिमा वैशाख महिनामा सबैभन्दा धेरै विदेशी पर्यटक १३ हजार एक सय १५ जना पर्यटक आएका छन् भने सबैभन्दा कम साउन महिनमा १२ सय ८ जना रहेका छन् । एक वर्षमा विदेशी पुरुष पर्यटक ८२ हजार ५३९ जना, महिला ६७ हजार ९०८ जना र तेस्रो लिंगी ६ जना रहेका छन् । स्वदेशी पर्यटकमा पुरुष तीन लख ७७ हजार आठ सय ५७ जना र महिला एक लाख ७७ हजार चार सय ६९ जना रहेकोमा सबैभन्दा धेरै कात्तिक महिनामा ९९ हजार एक सय ७६ जना रहेको प्रहरी निरीक्षक अधिकारीको भनाई छ ।
मुस्ताङ भित्रिने विदेशी पर्यटक हुने गरेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ म विदेशी पर्यटक ९९ हजार तीन सय ९९ जना रहेका थिए । अघिल्लो आवको तुलनमा गत आवमा ५१ हजार ५४ जना विदेशी पर्यटक बढी भित्रिएका छन् । त्यसैगरी दुई लाख तीन सय ९९ स्वदेशी पर्यटक बढी भित्रिएको तथ्याङ्कले देखाउँछ । मुस्ताङमा भित्रिने स्वदेशी पर्यटक घाँसादेखि चिनको सिमाना कोरलासम्म पुग्ने गरेका छन् भने विदेशी पर्यटकहरूको ठूलो हिस्सा तल्लो मुस्ताङबाटै फर्किने गरेको देखिन्छ ।
मुस्ताङको भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटक थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका भित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलमा जाने गरेका छन् । मुस्ताङमा भित्रिने अधिकांश पर्यटक प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पुग्ने गरेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो ।
मुस्ताङ हुदै छिमेकी जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–९ स्थित विश्वकै अग्लो स्थान (४,९१९ मि.)मा रहेको तिलिचो तालमा समेत जाने गरेका छन् । तिलिचो ताल जान मुस्ताङको बाटो सहज भएकाले वर्षेनी ठुलो सङ्ख्यामा स्वदेशी पर्यटक जाने गरेका छन् । प्राचिन गुफा, बस्तीभन्दा टाढा रहेका मानवनिर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङीको कला र संस्कृति, हावापानी र आर्कषक पर्यटकीय गन्तव्य मुस्ताङका प्रमुख आकर्षण हुन् । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे सवारीसाधनमा जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।