गुणबहादुर रोका
सुलीकोट, साउन २ गते । गोरखाको सिरानचोक गाउँपालिका – ६ नयाँसाँघु बजार र गोरखा नगरपालिका – ३ नारेश्वरको दरौँदी खोलामाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ ।
दुई वर्षमा सम्पन्न हुने सम्झौता उल्लेख भए पनि निर्माण कम्पनीले दुई पटक म्याद थपेपछि मात्रा बेलिब्रिज तयार भएर सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका साइड इन्जिनियर मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेलिब्रिज पुल निर्माणका लागि एलाइट कन्ट्रक्सन कम्पनी प्रालिसँग २०७८ साल असार १३ गते सम्झौता भई २०८० साल असार १२ गते सम्पन्न हुनुपर्ने थियो । तर निर्माण कार्यमा ढिलाइ हुँदा पूर्वाधार कार्यालय गोरखाको पटक पटक ताकेतापछि दुई पटक म्याद थप गरिएको थियो ।
बेलिब्रिज पुलको लम्बाई ७८ मिटर र चौडाइ ८.४ मिटर भएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । दरौँदी नदीमा पुल निर्माण भएपछि बाह्रै महिना सडक मार्ग भएर गोरखा सदरमुकामबाट कम ढुवानीमा सामान ओसारपसार गर्न पाइने सिरानचोक गाउँपालिकाका स्थानीय व्यापारी धनबहादुर तमाङले बताउनुभयो ।
बेलिब्रिजसँगै पुलको वारिपारि १००/१०० मिटर एप्रोच रोड समेत निर्माण भएको छ । पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच कुल १५ करोड ६० लाख ८० हजार भ्याटसहितको लागतमा सम्पन्न भएको हो ।
बेलिब्रिज निर्माणसँगै गोरखा सदरमुकामबाट सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिका पुग्ने सबै भन्दा छोटो सडक बाटो हुने भएको गोरखा नगरपालिका– ३ का वडा अध्यक्ष चुलबहादुर कुँवरले बताउनुभयो ।