काठमाडौँ, साउन २ गते । भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले साङ्ग्रिला बुक्सले नयाँ पुस्तक “पोषण वर्णमालाः थरी–थरी रङ, थरी–थरी स्वाद” प्रकाशन गरेको छ ।
यस पुस्तकका संयोजक कृष्ण जीसी र पूर्णचन्द्र वस्ती हुनुहुन्छ, जसले खाद्य प्रविधि तथा पोषणका क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव हासिल गर्नुभएको छ । उहाँहरूका अनुसार, यो पुस्तकले बालबालिकामा सानैदेखि स्थानीय, परम्परागत र पोसिला खानेकुराप्रति सकारात्मक धारणा विकास गर्न मद्दत गर्नेछ । साथै, यसले असल खानपानको बानी बसाल्न अभिभावक र शिक्षकहरूलाई सहयोग पुर्याउने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
“पोषण वर्णमाला” पुस्तकले नेपाली वर्णमाला सिकाउने नयाँ शैली प्रस्तुत गरेको छ । प्रत्येक अक्षरसँग नेपालका विभिन्न स्थान र जातजातिका पोसिला खानेकुराहरूको परिचय समेटिएको छ । उपलब्धता र अध्ययनका आधारमा यस पुस्तकमा १६० भन्दा बढी खानेकुराहरू समेटिएका छन् ।
पुस्तकलाई आकर्षक बनाउने उद्देश्यले अनामिका गौतमले चित्रहरू तयार गर्नुभएको छ र सम्पादन आन्विका गिरीले गर्नुभएको हो । यो पुस्तकले घरमा अभिभावक र विद्यालयमा शिक्षकहरूलाई बालबालिकालाई पोसिला खानेकुरा र अक्षर चिनाउने सरल र प्रभावकारी माध्यम बन्नेछ भन्ने विश्वास साङ्ग्रिला बुक्सकले राखेको छ ।