रेखीराम राना
तानसेन, साउन २ गते । पाल्पाका दस स्थानीय तहको एक अर्ब २४ करोड ६१ लाख बजेट फिर्ता भएको छ । जिल्लाका दस स्थानीय तहका लागि विनियोजित कुल बजेट ६ अर्ब ८९ करोड १८ लाखमध्ये पाँच अर्ब ६४ करोड ५७ लाख रुपियाँ मात्र खर्च भएको छ ।
दस स्थानीय पालिकाले चालुतर्फ चार अर्ब ३८ करोड ८० लाखमध्ये तीन अर्ब ७९ करोड ७७ लाख खर्च भएको छ । यस्तै पूँजीगततर्फ विनियोजित दुई अर्ब ५० करोड ३८ लाखमध्ये एक अर्ब ८४ करोड ८० लाख खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ ।
समग्रमा दस स्थानीय पालिकाको चालुतर्फ ८६ प्रतिशत र पूँजीगततर्फ ७३ प्रतिशत बजेट खर्च भएको कार्यालयका प्रमुख शशीन्द्र खातीले जानकारी दिनुभयो ।
पाल्पाका दस स्थानीय तहमध्ये विकास खर्चतर्फको सबैभन्दा कम खर्च निस्दी र तानसेन नगरपालिका भएको छ । निस्दी गाउँपालिकाले विकासे कामका लागि विनियोजन गरेको कुल बजेटमध्ये ६७ प्रतिशत मात्र खर्च गरेको छ । यस्तै तानसेन नगरपालिकाले ६६ प्रतिशत मात्र खर्च गरेको छ ।
विकासे कामका लागि विनियोजन भएको बजेटमध्ये सबैभन्दा बढी खर्च बगनासकाली गाउँपालिकाले गरेको छ । बगनासकाली गाउँपालिकाले विकास खर्चको ८६ प्रतिशत खर्च गरेको छ । समग्र बजेट खर्चमा पनि बगनासकाली गाउँपालिका नै अगाडि रहेको छ ।
रामपुर नगरपालिकाले विकास खर्च (पूँजीगत खर्च) ७९ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै पूर्वखोला गाउँपालिकाले ७७ प्रतिशत, तिनाउ गाउँपालिकाले ७७ प्रतिशत, माथागढी गाउँपालिकाले ८० प्रतिशत, रम्भा गाउँपालिकाले ८१ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै रिव्दीकोट गाउँपालिकाले ८० प्रतिशत र रैनादेवी छहरा गाउँपालिकाले ७३ प्रतिशत पूँजीगत खर्च गरेको छ ।
स्थानीय तहमा उपभोक्ता समितिले गरेका अधिकांश योजना सम्पन्न भएका छन् । तर निर्माण व्यवसायीबाट गरिएका विकास निर्माणका काममा भने खासै प्रगति हुन नसक्दा रकम खर्च हुन नसकेको पालिकाहरूले बताएका छन् । पाल्पाका अधिकांश पालिकामा दस लाख बढीका योजना निर्माण व्यवसायीमार्फत गराइएको छ ।