कास्की समाचारदाता
कास्की, साउन २ गते । गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । बढ्दो सहरीकरण, प्लटिङ र ठुला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जमिन नासिँदै गएको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार गण्डकी प्रदेशको तथ्याङ्क अनुसार उत्पादन हुने क्षेत्रफल घट्दो देखिएको हो । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा ९७ हजार ६७९ हेक्टर धान उत्पादन हुने क्षेत्र थियो भने आव २०८०/८१ मा ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अहिले भने ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान मन्त्रालयको छ ।
त्यसमध्ये हालसम्म प्रदेशभर ६६ हजार नौ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी ज्योति क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार असारको अन्तिम सातासम्म गण्डकी प्रदेशभर ७१.०३ प्रतिशत रोपाइँ भएको छ ।
प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा धान खेती हुँदैन । धान खेतीका लागि क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो लजमुङमा सबैभन्दा बढी ८६.२२ प्रतिशत रोपाइँ भएको छ । लमजुङमा आठ हजार १८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । प्रदेशभर सबैभन्दा बढी नवलपुरमा १४ हजार १११ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ भने हालसम्म ७५.३९ प्रतिशत मात्र रोपाइँ सकिएको छ ।
म्याग्दीमा दुई हजार पाँच सय हेक्टर अर्थात् ६५.६९ प्रतिशत मात्र रोपाइँ भएको छ । म्याग्दीको अधिकांश क्षेत्र हिमाली क्षेत्रमा पर्दछ । बागलुङमा ६७.०२, स्याङ्जा ६२, पर्वतमा ६०, कास्कीमा ७७.०७, तनहुँमा ७४.५९, गोरखामा ६१.२४ प्रतिशत धान रोपाइँ भएको छ । उहाँका अनुसार यस पटक गण्डकीमा करिब साढे दुई लाख मेट्रिक टन धान फल्ने अनुमान गरिएको छ ।
धान खेतीका लागि योग्य जमिन भएर पनि विविध कारणले बाँझो रहने समस्याले उत्पादन हुन छोडेको उहाँको भनाइ छ । उहाँले गण्डकी प्रदेशभित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका केही स्थानमा आकासे पानीका भरमा रोपाइँ भइरहेको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार गण्डकीमा सावित्री, रामधान, हाइब्रिड, जेठोबुढो, झिनुवा, एक्ले, गुर्जा, पहेँले, च्याम्पियन, मकवानपुर, गुर्दी, खुमल, बिरमफूल, पोखरेली जेठोबूढो, लुम्ले, माछापुच्छ«े, जर्नेलीलगायत जातका धान लगाउने गरिएको छ ।