• २ साउन २०८२, शुक्रबार

वनक्षेत्रको अतिक्रमण हटाइयो

blog

अतिक्रमित वनक्षेत्रको जमिन खाली गराउँदै वनका कर्मचारी । तस्बिर : विजयकुमार साह

ढल्केबर समाचारदाता

ढल्केबर, साउन २ गते ।  डिभिजन वन कार्यालय धनुषाले करिब ३० हेक्टर अतिक्रमित वनक्षेत्र खाली गराएको छ । जिल्लाको विभिन्न ठाउँमा अवैध रूपमा बनाइएका घरटहरा, खेतीपाती तथा बाली हटाएर वनको स्वामित्वमा रहेको जमिन फिर्ता लिइएको हो । 

डिभिजन वन कार्यालय धनुषाका डिभिजन प्रमुख विनोद सिंहले एक वर्षको अवधिमा ३० हेक्टर अतिक्रमित क्षेत्रलाई मुक्त गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अतिक्रमणमुक्त गरिएको जमिनमा वृक्षरोपण तथा तारजालीले घेरबार गरी सुरक्षित गरिएको छ ।” 

उहाँका अनुसार जिल्लामा ८४२ हेक्टर वनक्षेत्रको जमिन अझै अतिक्रमणको चपेटामा छ । आगामी दिनमा स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायको सहयोगमा अन्य ठाउँका अतिक्रमित जमिन चरणबद्ध रूपमा खाली गराउने डिभिजनल प्रमुख सिंहले जानकारी दिनुभयो । 

वन निर्देशनालय मधेश प्रदेशको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ४४२ हेक्टर वनक्षेत्रको जमिन अतिक्रमणमुक्त गरिएको छ । यसमध्ये सबैभन्दा बढी सर्लाहीमा १७५ हेक्टर वनको जमिन खाली गरिएको छ । त्यस्तै सप्तरीमा १११, सिराहामा १०, महोत्तरीमा तीन, रौतहटमा १२, बारामा ५४ र पर्सामा ४५ हेक्टर वनको स्वामित्वमा भएको जमिन खाली गराइएको हो । तथ्याङ्क अनुसार प्रदेशमा १६ हजार ५९९ हेक्टर वनक्षेत्रको जग्गा अझै अतिक्रमित अवस्थामा छ । 

मधेश सरकारका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले वनक्षेत्रलाई अतिक्रमणमुक्त बनाउन वन प्रशासन सक्रिय रूपमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “वनक्षेत्र अतिक्रमणमुक्त बनाउन हामी दृढ छौँ । यस कार्यमा प्रशासनिक संयन्त्र मात्र होइन राजनीतिक दलसँग पनि समन्वय गरी अगाडि बढिरहेका छौँ ।”

वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सचिव उद्धवबहादुर घिमिरेले मन्त्रालय मातहतका आठ वटै जिल्लाका डिभिजन वन कार्यालयलाई अतिक्रमण हटाउने कार्यमा तदारुकताका साथ खटाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वनक्षेत्र संरक्षणलाई उच्च प्राथमिकतामा राखिएको छ । हामी नीति, स्रोत र जनशक्तिका आधारमा परिणाममुखी कार्यमा केन्द्रित छौँ ।”

वन निर्देशनालय मधेश प्रदेशका निर्देशक जगन्नाथ जैसवालले वन अतिक्रमणको अन्त्यका लागि स्थानीय प्रशासनको सक्रियता अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो समस्याको समाधान वन प्रशासनबाट मात्र सम्भव छैन । स्थानीय तह, प्रशासन र जनप्रतिनिधिको पहलकदमीबिना दीर्घकालीन समाधान आउँदैन ।”

निर्देशक जैसवालले वन विनाशसँगै वातावरणीय प्रणालीमा असर परेको बताउँदै अतिक्रमणले जैविक विविधताको ह्रास, माटोको क्षय, जलस्रोत सुक्ने, प्राकृतिक प्रकोपको जोखिम बढेको जानकारी दिनुभयो । 

नेपालमा कुल भूभागको करिब ४५ प्रतिशत क्षेत्र वनले ढाकेको भए पनि मधेश प्रदेशमा ३.७२ प्रतिशत मात्र वनक्षेत्र छ । प्रदेशमा करिब दुई लाख दुई हजार २०२ हेक्टर जमिन वन क्षेत्र भए पनि १३६ स्थानीय तहमध्ये ८९ वटामा वन क्षेत्र छैन ।