प्युठान समाचारदाता
प्युठान, साउन २ गते । प्युठानमा चैते धान खेतीको क्षेत्र विस्तार भएको छ । नौ वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले चैते धान खेतीको प्रवर्धन थालेदेखि क्षेत्र विस्तार भएको हो ।
धान जोनको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको परियोजनाले चार सय रोपनी क्षेत्रफलबाट सुरु गरेकामा आर्थिक वर्ष २०८१/८२ मा तीन हजार छ सय रोपनी क्षेत्रफलमा चैते धान खेती विस्तार भएको छ । परियोजना सुरु हुनुअघि किसानले विभिन्न फाँटमा छिटपुट रूपमा चैते धान लगाउँथे । सिँचाइको राम्रो व्यवस्था भएका ठाउँका किसानले पनि दुई बाली धान खेती गर्न रुचाउँदैनथे । जसले गर्दा चैते धान खेतीको राम्रो सम्भावना भए पनि उत्पादन र क्षेत्र विस्तार हुन सकेको थिएन ।
जिल्लामा धान जोन सञ्चालन भएपछि भने चैते धान खेतीको प्रवर्धन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्युठानका प्रमुख चुमानसिंह गिरीले ऐरावती गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र प्युठान नगरपालिकामा चैते धान खेती हुने गरेको बताउनुभयो ।
क्षेत्रफल विस्तारसँगै चैते धानको उत्पादकत्व र उत्पादनसमेत बढेको छ । चैते धानमा काम गरिरहेको परियोजनाले जिल्लामा चैते धान खेती गर्न किसान प्रेरित हुँदै गएको र दुई खेती धान उत्पादन गर्न सक्ने अवस्था सिर्जना भएको जनाएको छ । बर्खे धानको तुलनामा चैते धानको उत्पादनसमेत बढी हुने भएपछि किसान चैते धान खेती गर्न उत्साहित भएका हुन् ।
जिल्लाभर छ हजार ५७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ । “बर्सेनि चैते धान खेती गर्ने क्षेत्रफल विस्तार भइरहेको छ,” प्रमुख गिरीले भन्नुभयो, “किसानलाई उत्प्रेरित गर्दै चैते धानको प्रवर्धन गरिरहेका छौँ ।”
चैते धानका लागि चैते ५, हर्दिनाथ १ र हर्दिनाथ ३ जातको बिउ प्रयोग गरिएको छ । चैते धान खेती प्रवर्धनका लागि सिँचाइ कुलो, मेसिन औजार, बिउ, औषधी उपलब्ध गराउने गरिएको छ ।