मलङ्गवा (सर्लाही), साउन १ गते । लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यू माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना. ६ ख. ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो ।
एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते हुनुभएका उहाँको हरिवनस्थित नमूना अस्पतालमा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर रूपमा घाइते हुुनुभएको छ । उहाँहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस