अमरगढी समाचारदाता
डडेलधुरा, साउन १ गते । ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको कोतघर एकै वर्षमा भत्किएपछि हाल नयाँ कोतघर निर्माण थालिएको छ । डडेलधुरा सदरमुकामको सबैभन्दा अग्लो स्थान अमरगढी नगरपालिका–५ मा अवस्थित अमरगढी किल्लामा चार वर्षपहिले २०७७ मा २० लाख रुपियाँ लागतमा निर्माण गरिएको कोतघर एक वर्ष नपुग्दै छत भत्किने अवस्थामा पुगेको थियो । ढुङ्गाले चिनाई गरेर पत्थरले छानो छाइएको कोतघरको छानोको धुरीखाँबो लच्किएपछि भत्किने अवस्थामा पुगेको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ मा डेढ करोड लागतमा कोतघरसँगै किल्लाभित्र र बाहिर पत्थर बिछ्याउने गरी ठेक्का सम्झौता भएको सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्राविधिक दीपक ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार बजेट ढिला गरेर प्राप्त भएपछि असारको पहिलो साता मात्रै ठेक्का सम्झौता भएको थियो । यस वर्ष काम नसकिने भएपछि म्याद थप गरी नयाँ आर्थिक वर्ष २०८१/८३ मा काम पूरा गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
नेपाली सेनाको अमरगढी नगरपालिका–१, दहमा रहेको अर्जुनवाण गण र कार्यालयले साइड क्लियर गरी ठेक्का सम्झौता गरेको प्राविधिक ओझाले जानकारी दिनुभयो । अहिले कोतघरको फाउन्डेसन तयार गरिएको उहाँले बताउनुभयो । पुरानो कोतघरको भग्नावशेष मात्रै रहेको अमरगढी किल्लाभित्र नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध कार्यक्रम अन्तर्गतको २० लाख रुपियाँको लागतमा २०७७ मा कोतघर निर्माण गरिएको थियो ।
चालु आवमा नेपाली सेनाको अर्जुनवाण गणले अमरगढी किल्लाभित्र प्रवेश गर्ने मुख्य द्वारसमेत जीर्णोद्धार गरेको छ । सेनाले २५ लाख रकममा ठेक्का सम्झौतामार्फत सुरुङमार्गमा सालको काठ लगाएर बाटो निर्माण बनाएको छ । काठका आडमा ठुला ढुङ्गाले बनेको किल्लामा काठ कुहिएपछि ढुङ्गा भत्किने अवस्थामा पुगेका छन् । केही ठाउँमा भत्किएका छन् । सुरुङमार्गमा काठ लगाइएको किल्ला क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरूले जानकारी दिनुभयो ।