देवरामप्रसाद यादव
सप्तरी, असार ३२ गते । भारतको गुजरात राज्यमा यातना भोगिरहेका पाँच जना नेपाली मजदुरको उद्धार गरिएको छ । सप्तरीको तिरहुत गाउँपालिका ४ र हनुमाननगर कंकालिनी नगरपालिका ८ का पाँच जना मजदुरलाई गुजरातको बनासकांठा जिल्लास्थित जोहरापुरा गाउँमा रहेको रामदेव कोल्ड स्टोरबाट उद्धार गरिएको छ ।
मजदुरहरूलाई ठेकेदारले कुटपिट गर्नुका साथै मानसिक र शारीरिक यातना दिने गरेको पीडितहरूको आरोप छ । पीडित मजदुरहरुलाई इञ्जिनियर तथा साइबर सुरक्षा विश्लेषक कुमार अभिनवको सक्रिय पहल र समन्वयमा भारतको गुजरातबाट सफल उद्धार गरिएको तिरहुत गाउँपालिका अध्यक्ष बिजयकुमार यादवले जानकारी दिनुभयो ।
इञ्जिनियर अभिनवले विगत ८ वर्षदेखि साइबर सुरक्षा, मानवअधिकार संरक्षण र नीति अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । उहाँकै पहलमा मजदुरहरूलाई गाडीमार्फत बस स्टेसनसम्म पुर्याएर भारतीय अधिकारीहरूसँग समन्वय गरी सुरक्षित रूपमा घरसम्म उद्धार गर्न सफल भएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।
तिरहुत गाउँपालिका अध्यक्ष यादवलाई घटनाको जानकारी समयमै दिएकाले उद्धार प्रक्रिया सहज भएको नेपाल राष्ट्रिय मुसहर संघ सप्तरी अध्यक्ष शिवदेव सदाले बताउनुभयो ।
उहाँका अनुसार आफनो छोरा विकी सदा मार्फत मजदुरहरूमाथि भएको दुर्व्यवहारबारे सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दिएको बताउनुभयो । उद्धार गरिएका तिरहुत गाउँपालिका–४ का ६० वर्षीय सकलदेव सदाले तीनपल्ट खाना र रु १६ हजार तलब दिने भनेर सम्झौता गरिएको भए पनि काम गरिरहँदा थाकेको बेला समेत जबरजस्ती काम गराइने र काम गर्न नमानेपछि कुटपिट तथा ज्यान मार्ने धम्की दिने गरिएको पीडा सुनाउनुभयो ।
यस्तै हनुमाननगर कंकालिनी ८ का २८ वर्षीय चन्दन खंग, शैलेन्द्र सदा लगायत अन्य पीडित मजदुरहरूले आफूहरूलाई बिहान ९ बजेदेखि राति २ बजेसम्म काम गराइने, एउटै कोठामा थुनिएर दिसा–पिसाबसमेत त्यही गर्न बाध्य बनाइने गरेको र अमानवीय व्यवहार भोग्नुपरेको बताउनुभयो ।
उनीहरू वैशाख ५ गते भारतको बिहारअन्तर्गत सुपौल जिल्लाका ठेकेदार राजेश शर्मामार्फत गुजरात गएका थिए । त्यहाँ मजदुरहरू ठेकेदार मोहमद अकबर मियाँ र उहाँका भाई सकिर मियाँको नियन्त्रणमा रहेकाले उनीहरूलाई निरन्तर यातना दिइएकाले उद्धार गरिएको संयुक्त राजनीतिक दलित संघर्ष समितिका अध्यक्ष भुवनेश्वर साफीले बताउनुभयो ।
तिरहुत गाउँपालिका अध्यक्ष विजयकुमार यादव र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र कुमार यादवको रोहवरमा परिवारजनको जिम्मा लगाइएको छ ।