कमल खत्री
धम्बोझी, असार ३२ गते । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले नेपालगन्ज रङ्गशाला परिसरको संचरना मर्मतमा लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ । साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्ज रङ्गशाला निरिक्षण गर्ने क्रममा मन्त्री अग्रवालले खेलकुद संरचना मर्मत र संरक्षणमा प्रदेश सरकारले आवश्यक योजना बनाएर काम गर्ने बताउनुभयो ।
निरीक्षणको क्रममा मन्त्री अग्रवालले रङ्गशाला परिसरमा रहेको कभर्ड हल, स्विमिङ पुल, सुटिङ रेन्जलगायतको निरीक्षण गरी अवस्थाको बारेमा जानकारी लिनुभयो । ६ वर्ष अघि नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । त्यसबेला बनेको अर्बोको खेल संरचना मर्मत र संरक्षणको अभावमा बिग्रँदै गएका छन् । जसका कारण खेलाडीहरूलाई दैनिक प्रशिक्षण र प्रतियोगिता आयोजनामा समेत समस्या हुने गरेको छ ।
क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले हालसम्म सम्पन्न पूर्वाधार निर्माण कार्यहरूको जानकारी गराउँदै भौतिक संरचनाको संरक्षण तथा थप विकासका लागि प्रदेश सरकारबाट सहयोगको आग्रह गर्नुभयो ।
त्यस्तै स्थानीय खेलकर्मी एवम् समाजसेवी फरमान अली सिद्दीकी (सोनु सिद्दीकी) ले बाँकेमा रहेका खेलकुदका भौतिक संरचनाहरूको संरक्षण गर्न तथा यस जिल्लाको खेलाडी तथा खेलकुदको विकासमा सहयोग गर्न मन्त्री अग्रवाललाई आग्रह गर्नुभयो ।
अवलोकनपछि आर्थिक मामिला तथा कानुन मन्त्री अग्रवालले खेलकुद क्षेत्रको भौतिक पूर्वाधारको विकास र खेलाडीहरूको समस्याका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालगन्ज रङ्गशालाको विकासले केवल खेल क्षेत्रको मात्र होइन, सम्पूर्ण प्रदेशको युवा क्षमताको उत्थानमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।