उर्लाबारी समाचारदाता
उर्लाबारी, असार ३२ गते । मोरङको पथरीशनिश्चरेकी २२ वर्षीय रिजु भट्टराईले मिस ग्लोबल २०२५ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने हुनुभएको छ । प्रतियोगिता युरोपको अल्बानियामा आगामी सेप्टेम्बर २५ देखि अक्टोबर १५ सम्म सञ्चालन हुने छ । प्रतियोगितामा विश्वका ६० भन्दा बढी देशका प्रतियोगी सहभागी हुने छन् । गत फागुनमा भएको राष्ट्रिय प्रतियोगिताबाट छनोट हुँदै रिजु मिस ग्लोबल २०२५ का लागि छनोट हुनुभएको हो । सन् २०१९ मा ‘मिस पथरी’ को उपाधि जित्नुभएकी रिजुले २०२१ मा ‘मिस पूर्वाञ्चल’ को उपाधि जित्नुभएको थियो । रिजु भन्नुहुन्छ, “अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झन्डा फहराउने दृढ विश्वासका साथ तयारी गरिरहेकी छु ।” हालसम्म निजी खर्चमा तयारी गरिरहनुभएकी रिजुले थप्नुभयो, “हाम्रो जस्तो देशमा सौन्दर्य प्रतियोगितालाई खासै महत्व दिइँदैन तर ग्रामीण क्षेत्रबाट उठेर यहाँसम्म आइपुग्न पनि निकै सङ्घर्ष गर्नु पर्छ ।”