गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ३२ गते । सहरी विकास मन्त्रालयले साउन १ गतेबाट मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) कार्यान्वयनमा ल्याउने भएको छ । यो प्रणाली पूर्ण कार्यान्वयनमा आएसँगै मन्त्रालय अन्तर्गतका सरकारी कामकारबाही कागजरहित (पेपरलेस) हुने सो मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले साउन १ गतेदेखि मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा आउने र मन्त्रालयका कामकारबाही कागजरहित हुने जानकारी दिनुभयो । उहाँले यो प्रणाली कार्यान्वयनमा आएसँगै कागजी झन्झट हट्ने बताउनुभयो । मन्त्रालयले साउन १ गतेबाट अनधिकृत रूपमा प्रयोग भएका मन्त्रालयका गाडी फिर्ता ल्याउने जानकारी दिएको छ । मन्त्रालयबाट सरुवा भई जाँदा सचिव र उच्चपदस्थ कर्मचारीले सँगै लगेका सवारीसाधनसमेत फिर्ता ल्याइने मन्त्रालयले जनाएको छ ।