गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ३२ गते । संयुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) कार्यक्रमको स्पेनमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा अनधिकृत व्यक्ति पुर्याइएको शङ्काबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सम्मेलनमा सहभागी गराउने भनी कुनै गिरोहले अनधिकृत व्यक्तिलाई समेत स्पेन पुर्याएको शङ्का गरी केही विवरण सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई छानबिन गर्न निर्देशन दिनुभएको थियो । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको संयोजकत्वमा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी अधिकारी रहेका छ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिका संयोजक एसएसपी बोगटीले यस घटनाबारे औपचारिक रूपमा छानबिन सुरु भएको जानकारी दिनुभयो । “समिति गठन भएसँगै हामीले प्रारम्भिक तयारी थालेका थियौँ, सोमबारदेखि औपचारिक रूपमा छानबिन थालेका छौँ ।”
बोगटीले छानबिनका क्रममा सम्बन्धित दूतावासमा पेस भएका कागजपत्र, भिसा प्रयोजन गर्ने संस्था वा व्यक्ति, सम्बन्धित व्यक्तिको राहदानी विवरणलगायतका विषयमा अनुसन्धान गरिने बताउनुभयो । छानबिन समितिले स्पेन औपचारिक रूपमा सहभागी सरकारी प्रतिनिधिमण्डलबाहेकको कुन टोली कसरी पुग्यो, त्यसमा कसको के सहभागिता छ र भिसा लिने कुन प्रक्रिया अपनाइएको छ भन्नेबारे समेत छानबिन गरिने छ ।
यसबारे सिआइबी र मानव बेचबिखन अनुसन्धान ब्युरोले संयुक्त रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । यही असार १४ देखि २० गतेसम्म स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्त कार्यक्रमको सो सम्मेलनमा सहभागी भई प्रधानमन्त्रीसहितको सरकारी टोली असार २० गते नै स्वदेश फर्किएको थियो । सम्मेलनमा सहभागीमध्ये केही व्यक्ति स्पेनमा लुकेर बसेको भनी प्रतिनिधि सभामा प्रश्न उठेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई छानबिनका गर्न निर्देशन दिएको थियो ।
एनजिओबाट पुर्याइएको शङ्का
स्पेनमा सम्पन्न उक्त सम्मेलनमा सहभागी प्रधानमन्त्रीसहितको सरकारी टोलीका सबै सदस्य एकसाथ स्वदेश फिर्ता हुनुभएको थियो । तर कतिपयले यस घटनालाई प्रधानमन्त्रीको टोलीसँग जोडेर प्रचार गरिरहेका छन् । हालसम्म सार्वजनिक तथ्यले उक्त प्रचार सत्य नभएको देखिन्छ ।
अनुसन्धानमा संलग्न एक उच्च अधिकारीका अनुसार केही गैरसरकारी संस्थाले आफ्नो प्रतिनिधि बनाई अनधिकृत रूपमा केही व्यक्तिलाई स्पेन पुर्याएको पाइएको छ । सम्मेलनमा सहभागी हुने भनी स्पेनी दूतावासममा पेस गरिएका कागजपत्र समेत नक्कली र बनावटी रहेको देखिएपछि प्रहरीले यसबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।