रामकृष्ण बोहरा
बागलुङ, असार २७ गते । वेरोजगार भएर वर्षौदेखि घरमै बसेर दिन बिताउनुभएको बागलुङ नगरपालिका–८ सिगानाका मञ्जु कार्कीले यो वर्ष १२ थरीका अचार बनाउने काम सिक्नुभयो । कार्कीले आँप, खुर्सानी, करेला, गुन्द्रुक र भट्टमास, टिमुर, माछा र कुखुराको मासुको समेत अचार बनाउनुभएको छ ।
तालिममा काम सिकेपछि घरमा पनि अचार बनाउन थालेको कार्कीले बताउनुभयो । ‘‘दिनभर काम नपाएर बस्थें अब त काम सिकेकी छु, अचार बनाएर दिन बिताउने हो,’’ कार्कीले भन्नुभयो, ‘‘साथीहरुबाट बजारमा बिक्री गर्ने योजना छ ।’’ धेरै उत्पादन गरियो भने नगरपालिकाले पनि बजारीकरणमा साथ दिने उहाँले बताउनुभयो ।
कार्की जस्तै वडा नं. १ रामरेखाकी बिन्दीया बोहोराले पनि यो काम जानेर अचारबाट कमाइ गर्ने योजनामा बनाउनुभएको छ । कार्की र बोहोराले बागलुङ नगरपालिकाको उद्यम विकास शाखाबाट तालिम लिनुभएको थियो । तालिमबाट आत्मनिर्भर बन्ने सीप पाएको बोहोराले बताउनुभयो । ‘‘अब जागिर के गर्ने भनेर खोज्नेभन्दा यो सीपलाई कसरी बढाउने भन्ने योजनामा छु’’ बोहोराले भन्नुभयो, ‘‘घरमै बसेर कमाइ गर्ने यो माध्यम बन्दैछ ।’’ बोहोराले सात दिने अचार बनाउन सिकेको सीपलाई नै आयआर्जनको बाटो बनाउन लागेको बताउनुभयो ।
कार्की र बोहोराजस्तै नगरका पन्ध्र जना महिला उद्यमीले बजारमा सजिलै बिक्री गर्न सकिने अचार बनाउन थालेका छन् । तालिम पाएपछि स्वरोजगार बन्न सकिनेमा उनीहरु ढुक्क छन् । गाउँघरमा मौषमी र बेमौसमी रुपमा पाइने फलफूल र अन्य सामग्रीबाट अचार बनाउन जानेपछि उत्पादनलाई बजारको खोजीमा छन् उनीहरु । ‘‘अब साथीहरुको सम्पर्क बढाएर उत्पादनलाई बिक्री गर्न खोजेका छौं’’ बोहोराले भन्नुभयो, ‘‘विदेशमा पनि अचारको माग रहेका बजारीकरणमा सहज हुनेछ ।’’ उत्पादन राम्रो बनाएर बजार विस्तार गर्न महिला उद्यमीहरुले व्यवसाय दर्ता गर्ने, आवस्यक पुँजि जुटाएर उद्यमशिल बन्ने लक्ष्य रहेको बोहोराले सुनाउनुभयो ।
जिविकोपार्जनका लािग लघु उद्यम विकास कार्यक्रममार्फत ग्रामीण र सहरी क्षेत्रका महिलालाई उद्यमशिल बनाउने अभियान चलेपछि सानो लगानीबाट आत्मनिर्भर बन्ने प्रयासमा महिलाहरु सक्रिय भएका हुन् । उद्यम विकास सहजकर्ता रामदेवी पुर्जाका अनुसार १५ जनाले यो वर्ष अचार बनाउने काम सिकेर उत्पादन थालेका छन् ।
त्यसबाहेक १२ जनाले बाँसका सामग्री बनाउने र २० जना महिलाले होजियारीमा उद्यमशिल बनेका छन् । उनीहरुको उत्पादनलाई बजारीकरणमा पनि नगरपालिकाले साथ दिने भएको छ । यसअघि मुडा बनाउने, नेतृत्व विकास र अन्य मागको आधारमा तालिम सञ्चालन भएका थिए । ती तालिममध्ये अचार बनाउने र बाँसको सामान बनाउने तालिम बढी प्रभावकारी बनेको हो । ‘‘नगरपालिकामा पटक पटक चाहिँने फोटा फ्रेम त उद्यमीको किनेर लैजाने योजना बनेको छ’’ पुर्जाले भन्नुभयो, ‘‘उद्यमी प्रोत्साहन पनि गर्ने, नगरको आवस्यकता पनि पूरा गर्ने लक्ष्य छ ।’’