हरिप्रसाद कोइराला
उर्लाबारी, असार २७ गते । अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न मोरङको सुनबर्सी–८, कुरेलीमा निर्माण भएका घरमा विपन्न परिवारलाई अझै सार्न सकिएको छैन ।
विसं २०७६ मा निर्माण सुरु भएका घरहरू पाँच वर्षपछि गत वर्ष निर्माण सम्पन्न भएका हुन् तर कोशी प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालय र स्थानीय तहबिच समन्वय नहुँदा विपन्न परिवार नयाँ घरमा सर्न पाएका छैनन् । सहरी विकास तथा भवन कार्यालय विराटनगरका जनता आवास कार्यव्रmम शाखाका इन्जिनियर ओमप्रकाश शर्माका अनुसार घरहरू गत वर्ष नै निर्माण सम्पन्न भएका हुन् ।
उहाँले भन्नुभयो, “हाम्रो जिम्मा स्थानीय सरोकारवाला र पालिकाले देखाएको स्थानमा घर बनाइदिने हो । लामो समयको विवादपछि घर निर्माण सम्पन्न भएको छ । घरसम्म जाने सडक, बत्ती पु¥याउने जिम्मा सहरी विकास कार्यालयको होइन । स्थानीयको माग अनुसार घरको आँगनमा माटो पुर्ने काम पनि हामीले गरिसकेका छौँ ।” शर्माका अनुसार बसेको ठाउँको मुआब्जा र घर बनेको ठाउँमा रहेको पाँच बिघा ऐलानी जग्गा भोगचलन गर्न नपाएसम्म सडक किनारमा बसिरहेका ऋषिदेवहरू नयाँ घरमा नसर्ने भनेर अडान लिइरहेका छन् ।
पक्की घरमा बस्ने सपना देखेका अति विपन्न ऋषिदेव परिवार भने आफूलाई सरकारले घरको न घाटको बनाएको आरोप लगाउँछन् । पक्की घर बन्छ र उतै सरौँला भन्ने आसले भएको छाप्रो भत्काएको बताउने उनीहरूले छ वर्ष बित्न लाग्दासम्म घर सर्न नपाएको बताएका छन् । न उनीहरूको राजनीतिक पहुँच छ न आफ्नै खर्चले घरसम्म जाने सडक, बिजुलीबत्ती र शौचालय बनाएर नयाँ घरमा सर्ने आर्थिक हैसियत छ । पक्की घरमा बस्न पाइने भएपछि उनीहरूले प्रतिपरिवार पाँच÷पाँच हजार रुपियाँ पनि तिरे ।
जन्तीदेवी ऋषिदेवले भन्नुभयो, “घामपानी छल्ने घर भत्कायौँ । अहिले यता न उता भयौँ । छ÷सात पुस्ताअघिदेखि साबिकको डाइनिया–४, कुरेलीमा बस्दै आएका ऋषिदेवसँग आफ्नो निजी जग्गा छैन । साहुको जग्गा अँधिया, ठेक्का गरेर जीविकोपार्जन गर्दै आएका ५५ परिवारलाई सहरी विकास मन्त्रालयले जनता आवास कार्यव्रmम अन्तर्गत सुरक्षित घरमा सार्न २०७६ मा घर निर्माण सुरु गरेको हो । जसमध्ये ३५ परिवार सुरक्षित घरमा सरिसकेका छन् ।”
घर निर्माणका लागि प्रतिघर तीन लाख ३२ हजार पाँच रुपियाँ विनियोजन भएको सहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख सुरेशप्रसाद साहले बताउनुभयो तर सुनबर्सी नगरपालिका–८ का वडाध्यक्ष अनुवार मियाँका अनुसार सम्झौतामा घरसँगै २० वटा शौचालय र २० वटा ट्युबेलसहित दुई÷दुईकोठे घर निर्माण गर्नुपर्ने थियो तर हालसम्म घर मात्र बनेका छन् ।
घरसम्म पुग्ने सडक छैन । गहिरो भागमा रहेको पैनीको किनारमा घर बनेकाले घरहरू डुबेका छन् । सडक नभएपछि ती घरसम्म बिजुली पु¥याउन सकिएको छैन । वडाध्यक्ष मियाँले थप्नुभयो, “घर समयमा हस्तान्तरण नहुँदा आर्थिक वर्ष २०८०÷८१ मा ६५ वटा घरको बजेट फ्रिज भयो ।” स्थानीय कैलु ऋषिदेवले आफ्नो समुदायका मानिसलाई समन्वय नगर्दा घर सर्ने काम अघि नबढेको मियाँले आरोप लगाउनुभयो । मियाँका अनुसार कैलुले २० वटा घर भएको स्थानमा पाँच बिघा जग्गा ऐलानी भएको र उक्त जग्गा ऋषिदेवलाई नै भोगचलन गर्न दिनुपर्ने माग गर्नुभएको छ । कैलु ऋषिदेव समुदायका अगुवा मानिनु हुन्छ ।
उक्त जग्गा बेलाल मियाँ र ताहिर मियाँ (सानो) ले भोगचलन गरिरहनुभएको छ । सरकारी जग्गामा सहरी विकासले घर बनाउन खोज्दासमेत प्रतिपरिवार पाँच÷पाँच हजार रुपियाँ दिएका ऋषिदेवहरूले जग्गा भोगचलनको माग राखिरहने हो भने उनीहरूको सुरक्षित आवासमा सर्ने सपना पूरा हुन सक्ने छैन । किनकि बेलाल र ताहिर उक्त जग्गा चार÷पाँच पुस्ताअघि बाबुबाजेबाट आफूमा सर्दै आएको दाबी गर्नुहुन्छ ।