• ७ जेठ २०८१, सोमबार

पराजयमा पनि छैन आलोचना

blog

प्रजित शाक्य

एसिया कपमा छनोट हुन नेपालको राष्ट्रिय फुटबल टिमले तय गरेको सबभन्दा लामो यात्रा हो– एएफपी एसियन कप–२०२३ को छनोटको तेस्रो चरण । एसिया कपमा खेल्न यो प्रतियोगिता अन्तिम बाधकका रूपमा रह्यो तर सो छनोट प्रतियोगिता खेल्न नेपालको पहिलो रोजाइको टिम कुवेतमा उपस्थित थिएन । कारण थियो, प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँग दस राष्ट्रिय खेलाडीको मनमुटाव । 

बन्द प्रशिक्षणमा रहँदा प्रशिक्षकसँगको मनमुटावमा रोहित चन्द, अनन्त तामाङ, विमल घर्ती मगर, विशाल राई, विशाल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, अञ्जन विष्ट, सुजल श्रेष्ठ र दिनेश राजवंशीजस्ता स्टार खेलाडी टिमबाट निकालिए । त्यसपछि बन्द प्रशिक्षण छोडेका खेलाडीको समर्थन गरेको भन्दै कप्तान किरण चेम्जोङ पनि टिममा पर्नुभएन । जुन नेपाली फुटबलमा अहिलेसम्म गएको सबभन्दा ठूलो भूकम्पमध्ये एक थियो । यो विवादको प्रकरण निकै लम्बियो तर प्रशिक्षक अल्मुताइरीले नयाँ खेलाडीलाई टिममा राखेर एएफपी एसियन कप–२०२३ को छनोटको तेस्रो चरण खेल्न तयार पार्नुभयो ।

त्यसपछि यो टिमले जोर्डन, कुवेत र इन्डोनेसिया सामेल एएएफसी कप छनोटमा कस्तो प्रदर्शन गर्छ भन्ने कौतुहलता सबैमा रह्यो । हुन त प्रशिक्षक अल्मुताइरीले पहिलो रोजाइको टिम उपलब्ध हुँदा नै नेपालले एएफसी छनोटको तेस्रो चरण पार गर्न नसक्ने अभिव्यक्ति दिनुभएको थियो । त्यसैले झन् दोस्रो रोजाइको यो अपरिपक्व टिम कुवेत जाँदा नेपालले गोलको भारी बोक्ने त होइन भन्ने डर नेपाली फुटबल समर्थकमा भइसकेको थियो ।

नेपालले पहिलो खेलमा जोर्डनसँग २–०, दोस्रो खेलमा घरेलु टिम कुवेतसँग ४–१ र तेस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग ७–० ले हार बेहो¥यो । समग्रमा भन्नुपर्दा नेपालले १३ गोल बेहो-योे भने एक गोल मात्र गर्न सक्यो । नेपालले अन्तिम स्थानमा रही प्रतियोगिताको अन्त्य ग¥यो । जित–हार खेलको एक पाटो हो । त्यसलाई सहर्ष स्वीकार गर्नुपर्छ । हुन त नेपालको सबै खेलमा हार स्वाभाविक पनि थियो तर नेपालले एक खेलमा पनि आफ्ना प्रतिद्वन्द्वीलाई चुनौती दिन सकेन । सबैका लागि नेपाल मिठो केक साबित भयो । 

नेपालले लज्जास्पद पराजय बेहोर्दा समर्थकको चर्को आलोचना सहनुपरेको विगत छ किनभने नेपाली फुटबल समर्थक राष्ट्रिय फुटबल टिमसँग भावनात्मक रूपमा जोडिने गर्छन् तर यसपालि फराकिलो हार हुँदाहुँदै पनि नेपाली फुटबल टिम तथा खेलाडीलाई गाली गर्ने अवस्थामा नेपाली समर्थक छैनन् । यस्तो किन त ? 

यसको सबभन्दा पहिलो कारण नेपालका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले एएफसी छनोटको तेस्रो चरणको बन्द शिविर सुरु हुनुअघि नै हार स्वीकारिसक्नुभएको थियो । प्रशिक्षकले मैदानभित्र र बाहिर दिने सकारात्मक रवैयामा कमजोर टिमले पनि ठूलो उलटपुलट गरेको उदाहरण विश्वमा धेरै छन् । यसको सबभन्दा ठूलो उदाहरण सन् २०११ मा नेपालले जोर्डनविरुद्धकै खेललाई लिन सकिन्छ । सो समय विश्वकप छनोटअन्तर्गत पहिलो लेगमा जोर्डनले नेपाललाई ९–० ले पराजित गरेको थियो । 

पाँच दिनपछि नेपालले सोही जोर्डन टिमसँग १–१ ले बराबरीमा खेल्यो । यसको प्रमुख कारण थियो, नेपालका बेलायती प्रशिक्षक ग्राहम रोवर्ट्सले नौ गोल बेहोरेपछि दिएको अन्तर्वार्तामा दोस्रो लेगमा नेपालमा हुने खेलमा जोर्डनलाई पराजित गर्छु भनेर दिएको अभिव्यक्ति । उहाँको सो भनाइले नेपाली खेलाडीमा आत्मविश्वास भरिदिएको थियो तर प्रशिक्षक अल्मुताइरीले प्रशिक्षण सुरु नहुँदै आफ्नै टिमलाई विश्वास गर्नुभएन । अल्मुताइरीले सो भनाइ राख्दा स्वयं खेलाडी पनि आश्चर्यमा थिए । प्रशिक्षक र खेलाडीबीचको दूरी पहिलो पटक सोही अभिव्यक्तिपछि देखिएको हो भन्दा पनि फरक पर्दैन ।

त्यसपछि बन्द प्रशिक्षणको समयमा राम्रो सुविधाका लागि खोलडीले गरेको आग्रहलाई प्रशिक्षक अल्मुताइरीले नकारात्मक रूपमा लिएपछि यस विवादले चर्को रूप लियो । नेपालका दस सिनियर खेलाडी टिमबाट निकालिए । यसमा देशबाहिर रहेका कप्तान किरणसमेत बन्नुभयो । प्रशिक्षक अल्मुताइरीले तुरुन्तै युवा खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर नयाँ टिम बनाउनुभयो । सोही टिमले एएफसी छनोट तेस्रो चरण खेलेको हो । 

अनुभव र एक्सपोजरहित खेलाडीले एकै पटक ठूलो प्रतियोगिता खेल्नु पक्कै पनि सहज काम होइन । यस अर्थमा यस युवा टिमलाई हारका अलावा गाली गर्ने ठाउँ देखिँदैन । यी खेलाडीले जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध आफ्नो क्षमता र बलबुताले भ्याएसम्म खेलैकै हुन् । बलियो जोर्डनविरुद्ध त विगतमा भन्दा राम्रो अन्तरले नेपालले हा¥यो । पहिलो खेलमै जोर्डनलाई मध्यान्तरसम्म गोलरहित बराबरीमा रोकेको नेपालको यस नयाँ स्वरूपको टिमबाट त्यसपछि भने अपेक्षा बढेको थियो । घरेलु टिम कुवेतविरुद्ध नेपालले चार गोल बेहोरे पनि मन जित्ने प्रदर्शन गरेको थियो । कुवेतविरुद्ध उत्तराद्र्धमा नेपालको यस युवा टिमले बहादुरीपूर्वक ‘इन्ड टु इन्ड’ फुटबल खेलेको थियो । त्यसैले पनि नेपालले कुवेतविरुद्ध मध्यान्तरपछि प्रत्याक्रमणमा तीन गोल बेहो¥योे । यद्यपि दर्शक गुरुङले कुवेतविरुद्ध गोल गरेर नेपाललाई यस प्रतियोगितामा गोलरहित घर फर्कनबाट जोगाउनुभयो ।

इन्डोनेसियाविरुद्ध भने नेपालले सात गोल बेहो¥योे । अन्तर्राष्ट्रिय फुटबलमा यो लज्जास्पद हार हो । कतार विश्वकप छनोटमा पनि नेपालले अस्ट्रेलियाजस्तो विश्वस्तरीय टिमविरुद्ध पनि उसकै मैदानमा ५–० ले मात्र हार बेहोरेको थियो । अझ इन्डोनेसिया फिफा वरीयतामा नेपालभन्दा नौ स्थान मात्र माथि छ । यसमाथि सुरुका दुई खेलमा नेपालले सन्तोषजनक प्रदर्शन गरेको थियो । त्यसैले इन्डोनेसियाविरुद्ध यति धेरै गोल बेहोर्छ भन्ने अपेक्षा कसैले गरेका थिएनन् ।

यद्यपि इन्डोनेसिया शानदार लयमा थियो । उसले कुवेतलाई उसकै मैदानमा हराएर आफू छनोट हुन आएको घोषणा गरिसकेको थियो । यस प्रतियोगितामा सो टिमको इनर्जी, फिटनेस र टेक्निकल खेलले नेपाललाई अन्तिम खेल कठिन हुने सङ्केत देखिइसकेको थियो । अझ पूर्वाद्र्धमा नै डिफेन्डर सुमन अर्यालले रातो कार्ड पाएपछि नेपालको युवा डिफेन्स इन्डोनेसियाको तेज आक्रमणअगाडि छिन्नभिन्न भयो । 

यस खेलमा प्रशिक्षक अल्मुताइरीले कप्तान तथा अनुभवी स्ट्राइकर नवयुग श्रेष्ठसहित पछिल्लो खेलमा सुरुमै खेलेका छ खेलाडीलाई बेञ्चमा राख्ने रणनीति पनि ब्याकफायर भयो । तेस्रो खेलमा पुजन उपरकोटीलाई टिमको नेतृत्व गर्ने जिम्मेवारी दिएर अल्मुताइरीले राष्ट्रिय टिमको कप्तान पद कुनै पनि समयमा छिनिन सक्ने उदाहरण प्रस्तुत गर्नुभयो । नयाँ कप्तानले बलियो टिमविरुद्ध दस खेलाडीमा खेल्नुपर्दा दबाब झेल्न नसक्नु ठूलो कुरा भएन । शायद त्यसैले पनि इन्डोनेसियाविरुद्ध नेपालले गोलको भारी बोक्यो । इन्डोनेसियाविरुद्धको खेलमा अल्मुताइरीको कप्तान र छ खेलाडी परिवर्तन गर्ने निर्णयले नेपाली फुटबल पण्डितलाई पनि आश्चर्यमा पारेको थियो ।

यस प्रतियोगितामा अल्मुताइरीको धेरै खेलाडी परिवर्तन गर्ने बानी र अति प्रयोगको सनकले नेपालकै खेलमा प्रभाव प¥यो भन्दा पनि गलत नठहर्ला । अल्मुताइरीले नेपाली प्रशिक्षकका रूपमा दुई कार्यकालमा १५ खेलाडीलाई राष्ट्रिय टिममा पदार्पण गराइसक्नुभएको छ । यस प्रतियोगितामा पनि अल्मुताइरीले चार खेलाडीलाई डेब्यू गराउनुभयो । जोर्डनसँगको खेलमा गोलरक्षक दीप र डिफेन्डर विकास तामाङ तथा इन्डोनेसियाविरुद्धको खेलमा डिफेन्डर शिव गुरुङ र मिडफिल्डर नीरकुमार राईले राष्ट्रिय टिमबाट पदार्पण गर्ने अवसर पाउनुभयो । 

यी कारणमा नजर दिने हो भने नेपाली खेलाडीलाई पराजयमा दोष दिन जायज नहोला । नेपाली युवा खेलाडीले विषम परिस्थितिमा पनि आफ्नो क्षमता देखाएका छन् । सिनियर खेलाडी नहुँदा नेपालको प्रदर्शन कस्तो होला भन्ने प्रश्नलाई यी खेलाडीले राम्रो जबाफ दिएका छन् । हामी भन्न सक्छौँ, यस टिम पनि ‘पोटेन्सियल’ छ । अझ नेपालका नयाँ गोलरक्षक दीप कार्की यस भ्रमणको सकारात्मक पक्ष हो । जोर्डन र कुवेतविरुद्ध दीपले विश्वस्तरीय प्रदर्शन गरेर आफूलाई राष्ट्रिय टिममा लामो रेसको घोडा हुँ भन्ने सन्देश दिनुभएको छ । नेपालको युवा डिफेन्समा भने अझै धेरै काम गर्न बाँकी देखिन्छ ।  


अल्मुताइरीको भविष्य 


नेपाली फुटबलमा सबभन्दा अस्थिर पद हो, राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले लामो समयसम्म प्रशिक्षकलाई विश्वास गरेको उदाहरण कम छ । नेपालमा एउटा प्रतियोगितापछि नै राष्ट्रिय प्रशिक्षक बर्खास्त परेको उदाहरण धेरै छन् । प्रशिक्षक परिवर्तन व्यावसायिक फुटबलको एक पाटो हो तर एन्फाले विदेशी र स्वदेशी प्रशिक्षक कसैलाई पनि लामो समय टिम सम्हाल्ने जिम्मेवारी दिएको छैन । नेपाली फुटबलको इतिहास हेर्ने हो भने नेपालले स्वदेशीभन्दा विदेशी प्रशिक्षकलाई नै भरोसा गरेको पाइन्छ तर अहिलेसम्म कोही पनि विदेशी प्रशिक्षक लामो समयसम्म टिकेका भने छैनन् ।

यद्यपि एन्फाले कुवेती प्रशिक्षक अल्मुताइरीमाथि ठूलो विश्वास देखाएको थियो, दोस्रो पटक राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा नियुक्त गरेर । पहिलो कार्यकालमा नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा नेपाललाई पु¥याएपछि अल्मुताइरी नेपाली फुटबल समर्थकको प्रिय बन्नुभयो । यद्यपि उहाँले नेपाललाई साफ फाइनलमा पु¥याउनेबित्तिकै भारतविरुद्धको उपाधि भिडन्त नेपालका लागि आफ्नो अन्तिम खेल हुने खुलासा गरेर सबैलाई स्तब्ध पार्नुभएको थियो । नेपाली फुटबल टिमका लागि मेरो सेवा यति नै भयो । म घर फर्कंदैछु– उहाँले भन्नुभएको थियो ।

अल्मुताइरीले नेपालको प्रशिक्षक पदबाट राजीनामा दिएको एक महिना नबित्दै उहाँ दोस्रो पटक नेपाली टिमको प्रमुख प्रशिक्षकका रूपमा नेपाल आउनुभयो, तीन वर्षको सम्झौतासहित । यसअनुसार अल्मुताइरी सन् २०२४ सम्म नेपाली टिमको प्रशिक्षक रहनुहुनेछ । दोस्रो कार्यकालमा पनि पहिलो पटक अफ्रिकी टिम मोरिससविरुद्ध दुवै खेलको शृङ्खला नेपालले जितेपछि अल्मुताइरीले नेपाली फुटबललाई उचाइमा लग्ने अपेक्षा भयो । नेपाली टिमको खेल र खेलाडीको आत्मविश्वासलाई बलियो पार्नुभयो । जग बलियो बनाउनुपर्छ भन्दै धेरैभन्दा धेरै नयाँ खेलाडीलाई राष्ट्रिय टिममा अवसर पनि दिनुभयो । प्रशिक्षक अल्मुताइरीले नेपाली खेलाडीलाई ठूलो टिमविरुद्ध पनि आक्रामक खेल खेलेर जित्न सकिन्छ भन्ने मनोबल भर्नुभएको छ । त्यसैले अल्मुताइरी एक गुणी प्रशिक्षक हुन् भन्दा ठूलो कुरा गरेको नठहर्ला ।

यी सकारात्मक पक्ष हुँदाहुँदै पनि अल्मुताइरी सुरुदेखि नै विवादास्पद प्रशिक्षकका रूपमा प्रस्तुत हुनुभयो । समय–समयमा मैदानबाहिर गर्ने हस्तक्षेपले उहाँ विवादमा तानिनुभयो । सिनियर टोलीलाई बाहिर राखेपछि उहाँ केही हदसम्म आलोचित पनि बन्नुभयो । एएफसी छनोटको तेस्रो चरणपछि अहिले अल्मुताइरीको भविष्यबारे चर्चा हुन थालेको छ ।

अल्मुताइरी कुवेतबाट नेपाल फर्कनुभएन । उहाँ बिरामी बिदामा बस्नुभयो । नेपाल र कुवेतविरुद्धकै खेलमा उहाँ बेहोस हुनुभएको थियो । उहाँलाई मुुटुको समस्या रहेको छ । अझ अहिलेका एन्फा अध्यक्ष पदका उम्मेदवार पंकज नेम्वाङसँगको उहाँको सम्बन्ध राम्रो छैन । त्यसैले पनि असार ६ गते हुने एन्फा निर्वाचनले पनि अल्मुताइरीको भविष्य निर्धारण हुने पक्का छ । यसैगरी टिमबाहिर रहेका नेपालका सिनियर दस खेलाडीको टिममा पुनरागमन हुने नै छ । टिममा परेपछि यी खेलाडीले अल्मुताइरीको प्रशिक्षकत्वमा खेल्नुले मनोवैज्ञानिक असर नपर्ला भन्न सकिन्न । त्यसैले प्रशिक्षक परिवर्तन पनि विकल्प हुनसक्छ ।