• १३ असार २०८२, शुक्रबार

प्रविधिकै कारण रूपान्तरण

blog

पछिल्लो दशकमा सूचना प्रविधि तथा कम्प्युटर इन्जिनियरिङका क्षेत्रमा आमूल विकास भएको छ । विद्युतीय उपकरण र इन्टरनेटमा सर्वसाधारणको सहज पहुँच हुनु ठुलै उपलब्धि हो । अत्याधुनिक प्रविधिका कारण कृषिबाट चिकित्सासम्म, मनोरञ्जनबाट अन्तरिक्षको अन्वेषणसम्म निकै नै परिवर्तन देखिएको छ । साँच्चै भन्ने हो भने जुनसुकै पेसा व्यवसाय वा क्षेत्रमा संलग्न भए पनि विद्युतीय उपकरण र इन्टरनेट अपरिहार्य भएका छन् । यिनको उपस्थितिबिना सामान्यभन्दा अति सामान्य काम पनि सम्पादन गर्न कठिन हुने परिस्थिति सिर्जना भएको छ । ग्याजेट र इन्टरनेटका सकारात्मक प्रभावकै कारण लामो समयमा सम्पन्न हुने काम सहज बन्दै गएका छन् । शिक्षा क्षेत्र पनि प्रविधिकै कारण रूपान्तरित भएको छ । महामारी वा अन्य विपत्का अवस्थामा अनलाइन माध्यमबाट घरमै बसी अध्ययन अध्यापन गर्ने पद्धति कोरोना महामारीले विकास गर्‍यो । 

नेपालका सहरी र केही ग्रामीण क्षेत्रमा महामारीका समयमा अनलाइनका माध्यमबाट अध्ययन अध्यापनका क्रियाकलाप सम्पन्न भए । देशको ठुलो जनसङ्ख्याले मोबाइल र अन्य माध्यमबाट इन्टरनेटमा पहुँच राखेका तथ्य आधिकारिक निकायका प्रतिवेदनमा सार्वजनिक भएका छन् । विकासको पूर्वाधारकै रूपमा ग्रहण गरिने सूचना तथा सञ्चारको विस्तारले चेतनाको स्तर विकास गर्नुका साथै विकास निर्माण र आधुनिक दृष्टिकोणको विकास भएको छ । यसले समाजमा सकारात्मक परिवर्तनका लागि उल्लेख्य योगदान पुर्‍याएको छ । 

एक्काइसौँ शताब्दीका सिकाइ उपलब्धिमा साइबर साक्षरतालाई पनि मुख्य तत्वका रूपमा राखिएको छ । इन्टरनेटमा दखल नहुने हो भने व्यक्तिले कुनै पनि क्षेत्रमा प्रभावकारी भूमिका वहन गर्न सक्दैन अर्थात् इन्टरनेट एक्काइसौँ शताब्दीको आधारभूत र अति आवश्यक पक्ष हो भन्ने कुरालाई आत्मसात् गरी यसलाई सिकाइ साक्षरताको प्रमुख अङ्गका रूपमा राखिएको हो । उपयुक्त किसिमले प्रयोग गरेमा ग्याजेट र इन्टरनेट अध्ययन अनुसन्धान र नवप्रवर्तनका लागि राम्रा सहयोगी सामग्री बन्न सक्छन् ।

इन्टरनेटसम्मको पहुँच विस्तारका लागि कुनै न कुनै विद्युतीय ग्याजेट आवश्यक पर्छ । मोबाइल, ल्यापटप, कम्प्युटर यसका लागि अति उपयोगी सामग्री हुन् । यिनको प्रयोग गरी इन्टरनेटको महासागरमा भएका यावत् विषयसँग सम्बन्धित ज्ञान र सिप सहजै प्राप्त गर्न सकिन्छ । ग्याजेट अनुसन्धान र अध्ययनका क्षेत्रमा मात्र नभएर यसभन्दा धेरै गुणा बढी मनोरञ्जनका क्षेत्रमा प्रयोग हुने गरेको छ । विश्व सञ्जालमा भएका सूचना ग्रहण गरी लाभ लिन नसक्ने जनसङ्ख्या ग्याजेटका माध्यमबाट क्षणिक मनोरञ्जनमै भुलेको देखिन्छ । 

सामाजिक, आर्थिक र वैयक्तिक उन्नति नहुने र व्यर्थमा समय व्यतीत भई आफ्ना नियमित काममा नकारात्मक प्रभाव पर्ने गरी ग्याजेटमा भुल्नु ग्याजेट एडिक्सन हो । लामो समयसम्म एकोहोरो ग्याजेटमै झुम्मिनुले व्यक्तिको सामाजिक, बौद्धिक र संवेगात्मक विकासमा नकारात्मक असर पार्छ । महामारीपछि अभिभावकमा छोराछोरीलाई ग्याजेट उपलब्ध गराए राम्रो गर्न सक्छन् भन्ने धारणा विकास भएको पाइएको छ । अर्को किसिमले भन्ने हो भने महामारी र यसपछिको समयमा धेरै बालबालिकाको ग्याजेटमा सहज पहुँच विस्तार भएको छ । कुनै पनि वस्तुलाई निरपेक्ष रूपमा फाइदाजनक वा हानिकारक भन्न सकिँदैन । वस्तुको मूल्य र महत्व यसको उपयोगितामा निर्भर गर्छ । आत्मसुरक्षाका लागि प्रयोग हुने हतियार व्यक्तिको मनोवृत्ति खराब भएमा आत्महत्याको साधन बन्न सक्छ । यस्तै मानवलाई सर्वश्रेष्ठ बनाउने आगो सही किसिमले प्रयोग नभएमा मानव सभ्यताकै विनाशको कारक बन्न सक्छ । ग्याजेट पनि यस्तै संवेदनशील विषय हो जो प्रयोगकर्ताको प्रयोग गर्ने तरिका र आवश्यकताका आधारमा उपयोगी वा अनुपयोगी बन्ने गर्छ । 

बालबालिकाका सन्दर्भमा छोटो समय ग्याजेट र इन्टरनेटको प्रयोग गरिनु अध्ययनले लाभदायी नै देखाएका छन् । यसो भन्नुको तात्पर्य ग्याजेटमा लत बसाउने वा ग्याजेटमा लीन भएर मात्र कलिला बालबालिकाले खाना खाने वा सामान्य क्रियाकलाप गर्ने बानी बसाउनु ठिक हो भनेको भने होइन । पाँच वर्षमाथिका बालबालिकाले अभिभावकको निगरानीमा निश्चित समय ग्याजेटका माध्यमबाट इन्टरनेटका सामग्री खोज्ने, उमेर र अवस्था अनुसार प्रयोग गर्ने अभ्यास गर्नु साइबर साक्षरता हो । यसका विपरीत अभिभावकको आँखा छली स्वच्छन्द रूपमा इन्टरनेटमा भएका सबै खाले सामग्रीमा पहुँच बढाउनु र लामो समयसम्म ग्याजेटमै अल्मलिनु भने एक किसिमको एडिक्सन नै हो । यसले गहन रूपमा अध्ययन गर्ने बानीलाई नष्ट गरिदिन्छ र व्यक्तिलाई अल्छी अनि बेकामे बनाइदिन्छ । 

ग्याजेटमा लत लागेपछि व्यक्तिमा मनोसामाजिक समस्या देखिन थाल्छन् । सामाजिकीकरणमा अवरोध सिर्जना हुनु, अनावश्यक ठाउँमा रिसाउनु वा अस्वाभाविक व्यवहार प्रदर्शन गर्नु, आत्मनियन्त्रण गर्न नसक्नु एवं तत्काल प्रतिफलको अपेक्षा गर्नु जस्ता लक्षण व्यक्तिमा विकास हुन थाल्छन् । उनीहरू तत्कालीन आनन्दका लागि मात्र काम गर्न अग्रसर हुन्छन् । यसले सामाजिक सन्दर्भ, सम्बन्ध, वैयक्तिक विकास, जीवनोपयोगी एवं पेसागत सिप आर्जनमा बाधा पुर्‍याउँछ । 

इन्टरनेट जीवनकै अङ्ग बनेकाले व्यक्तिको आन्तरिक र बाह्य व्यक्तित्व मात्र होइन, साइबर/इन्टरनेट व्यक्तित्वसमेत अध्ययनको विषय बनेको छ । व्यक्तिले इन्टरनेटमा के कस्ता सामग्री खोज्छ, उसले कस्ता किसिमका स्रोतमा पहुँच विस्तार गरेको छ र स्वयम्ले के कस्ता सामग्रीहरूलाई इन्टरनेटमा प्रविष्टि दिएको छ भन्ने आधारमा कुनै पनि व्यक्तिको साइबर वा इन्टरनेट व्यक्तित्व पहिचान गर्न सकिन्छ । व्यक्तित्वका आयाम विस्तारसँगै साइबर व्यक्तित्वले उसका जीवनमा सर्वाधिक प्रभाव परेको देखिएको छ । साइबर व्यक्तित्वलाई स्वस्थ र सन्तुलित राख्न इन्टरनेटको सदुपयोग र ग्याजेटमा बिताउने समयको व्यवस्थापन गर्न जान्नु पर्छ । कम्तीमा १६ वर्षमुनिका बालबालिकालाई शिक्षक र अभिभावकले साइबर व्यक्तित्व विकासमा अवरोध पु¥याउने पक्षका बारेमा सजग रहन सिकाउनु पर्छ । 

हाम्रो समाजमा आधुनिकताको पहिचानका रूपमा मोबाइल, ल्यापटप, ट्याब्लेट जस्ता उपकरणहरूको प्रयोग बढ्दै गएको छ । ‘जेन जी’ पुस्ता कुनै पनि विषयवस्तुको जानकारी लिन मात्र होइन, विद्यालयमा दिइएका गृहकार्य गर्नका लागि समेत ग्याजेट र इन्टरनेटको प्रयोग गर्न रुचाउँछ । कृत्रिम बौद्धिकताका कारण दुर्लभ सामग्री विद्यार्थीले सहजै प्राप्त गर्न सक्छन् । कुनै पनि विषयमा जानकारी लिन मात्र होइन सिर्जनात्मक कामका लागि समेत कृत्रिम बौद्धिकताको प्रयोग संसारभर बढ्दै गएको छ । यसले बौद्धिक कसरत गरी भौतिक, सामाजिक तथा मानसिक विकास गर्नुपर्ने उमेरका बालबालिका ग्याजेट तथा इन्टरनेटमा निर्भर बन्ने हुन् कि भन्ने चिन्ता बढ्दै गएको छ । यी सामग्रीको उपयोग गर्न जान्नु अपरिहार्य छ तर ग्याजेटको अभावमा कुनै पनि काम गर्न नसक्ने अवस्था सिर्जना हुनु जीवनलाई असहजताको ढोकातिर धकेल्नु जस्तै हो । 

अभिभावकको संलग्नताबिना स्वच्छन्द रूपमा उपलब्ध गराइएको इन्टरनेट र ग्याजेटले बालबालिकालाई हिंस्रक किसिमका खेल र अन्य असामान्य एवं असामाजिक क्रियाकलापमा उद्यत बनाउँदै लगेको पाइन्छ । आजकल इन्टरनेटको लतकै कारण पठनपाठन बिग्रेको, सामाजिक व्यवहारमा विचलन आएको र मानसिक रूपमा समेत विक्षिप्त हुँदै गएको भनी अस्पताल तथा परामर्श केन्द्रमा आउने अभिभावकको सङ्ख्या बढ्दै गएको छ । छोराछोरीलाई ग्याजेट तथा इन्टरनेट नदिएर पनि नहुने र दिएपछि कुलतमैसमेत लाग्न सक्ने भयले आमअभिभावक त्रसित भएको पनि देखिन्छ । एक्काइसौँ शताब्दीमा यी साधनबाट कुनै पनि व्यक्तिलाई टाढा राख्नु सम्भव छैन र राखिनु पनि हुँदैन तर पौडी खेल्ने सिप नभएको व्यक्तिलाई समुद्रको छालमा छोडिदिए जस्तै ग्याजेटका प्रभाव र असरका बारेमा नबुझेका कलिला बालबालिकालाई स्वच्छन्द छोडिदिनु घातक काम हो । 

राज्यले बालबालिकाका लागि उपयोगी नभएका वा उनीहरूको व्यक्तित्व विकासमा बाधा सिर्जना गर्ने असामान्य असामाजिक र प्रौढ साइटमाथि नियन्त्रण गर्न नसकेको वर्तमान परिप्रेक्ष्यमा ग्याजेटको दुष्प्रभावबाट परिवार र समाजलाई बचाउन निगरानी वा सुपरिवेक्षणसहितको सुविधा बालबालिकालाई उपलब्ध गराउनु उपयुक्त हुन्छ । आधुनिक सुविधाले सम्पन्न बनाउनु नै ग्याजेट र इन्टरनेटको दुनियाँमा बालबालिकालाई खुला छोड्नु हो भन्ने बुझाइ रह्यो भने यसले नशालु पदार्थले भन्दा नराम्रो असर बालमस्तिष्कमा पार्ने देखिन्छ । ग्याजेटको दुष्प्रभावबाट बचाउन हरेक अभिभावक, परिवार, समाज र सामाजिकीकरणका अन्य एकाइहरूले जिम्मेवारीपूर्ण तरिकाले काम गर्नु आवश्यक छ । तिनै तहका सरकारले सामाजिक सुरक्षा, विकास र एकताको भावनालाई मजबुत बनाउनका लागि र स्वस्थ नयाँ पुस्ता निर्माणका लागि पनि ग्याजेटको दुष्प्रभावबाट सिर्जना हुने असामान्य अवस्थालाई नियन्त्रण गर्न आवश्यक रणनीति तयार गर्न ढिलाइ गर्नुहुन्न ।