• १२ असार २०८२, बिहिबार

हत्या आरोपी २१ वर्षपछि पक्राउ

blog

पक्राउ परेका हत्याका आरोपी । तस्बिर : गोरखापत्र

रेखीराम राना

तानसेन, असार १२ गते । जिल्ला प्रहरी कार्यालय पाल्पाले २१ वर्षपछि हत्याका आरोपीलाई पक्राउ गरेको छ ।

२१ वर्षअघि २०६१ असार १९ गते जिल्लाको पूर्वखोला–१, गुनडाँडाकी ५५ वर्षीया चिनीसरा सार्कीको हत्या गरी फरार रहेका सोही स्थानका ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई बिहीबार बिहान बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित भन्सार अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

साइनोले छोरीज्वाइँ पर्ने पूर्णबहादुरले चिनीसरालाई विवादका बीच घाँटी थिचेर मारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । हत्यापछि पूर्णबहादुर भारतमा लुकीछिपी बस्दै आएको उहाँले बताउनुभयो । 

पक्राउ परेका पूर्णबहादुरमाथि मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा अनुसन्धान भइरहेको छ । अदालतबाट म्याद लिई अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।