• १२ असार २०८२, बिहिबार

सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार १२ गते । छोटो समयमै घर तथा भवन निर्माणमा प्रयोग गरिने सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । रौतहटको गौशालामा रहेको एभरेस्ट फाइबर बोर्ड सिमेन्ट उद्योगले यस प्रकारको बोर्ड उत्पादन सुरु गरेको हो । राजधानीमा बुधबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग सञ्चालनको उद्घाटन तथा त्यसका उत्पादन औपचारिक रूपमा सार्वजनिक गर्नुभएको हो । उद्योगले नेपालमा पहिलो पटक यस प्रकारको बोर्ड उत्पादन सुरु भएको दाबी गरेको छ । 

कार्यक्रममा मन्त्री भण्डारीले यस किसिमको उद्योग सञ्चालनमा आउँदा आयात प्रतिस्थापन मात्र हुने नभई निर्माण क्षेत्रलाई समेत सहयोग पुग्ने बताउनुभयो । उत्पादनमुखी उत्पादनलाई सरकारले प्राथमिकतामा राखेको अवस्थामा यस्तो उद्योग सञ्चालनमा आउनु नेपालको औद्योगिक विकासमा महत्वपूर्ण हुने उहाँको धारणा थियो । 

उद्योगको प्रमुख लगानीकर्तामध्येको आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उद्योग सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । नेपालमै अन्तर्राष्ट्रियस्तरको निर्माण सामग्री उत्पादन सम्भव छ भन्ने सन्देश यस उद्योगले दिएको उहाँको धारणा छ । 

करिब डेढ अर्ब रुपियाँ लगानीमा सञ्चालित उद्योगले स्वचालित प्रणालीमार्फत बोर्डको उत्पादन गरिरहेको जनाइएको छ । दैनिक ७५ हजार वर्गफिट सिमेन्ट फाइबर बोर्ड उत्पादन क्षमता रहेको उद्योगका उत्पादन भवनको बाहिरी भाग, फल्स सिलिङ, आधुनिक भान्सा, इको प्यानललगायतका संरचनामा उपयोगी हुने उद्योगले जनाएको छ । उद्योग सञ्चालनमा आउँदा दुई सय जनाले रोजगारी पाएका छन् ।