विनय कर्ण
कल्याणपुर (सप्तरी), असार १० गते । रुपनी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन विद्यालय सञ्चालन रहेका बेला कक्षाकोठामा मोवाइलको प्रयोग निषेध गर्ने भएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममा कक्षाकोठामा शिक्षकहरुलाई मोवाइल प्रयोगमा निषेध र प्रयोग गर्ने शिक्षकलाई कारवाही गर्ने उल्लेख गरेको हो ।
गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सोमबार सातौं गाउँसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कक्षाकोठामा शिक्षकहरुलाई मोवाइल प्रयोगमा निषेध गर्नुका साथै विद्यालयमा सुर्तिजन्य पदार्थ पनि पूर्णरुपमा निषेध गरिने बताउनुभयो ।
उहाँले कृषि क्षेत्रको विकासका लागि मलखाद विउ बिजनमा अनुदान, प्राङ्गारिक कृषि खेतीमा जोड, कृषकको वर्गिकरण गरि परिचयपत्र वितरण र दलितहरुको लागि घर मिटर निःशुल्क उपलब्ध गराईने घोषणा गर्नुभयो ।
पालिकाबाट सञ्चालन हुने विकास निर्माणका कार्यहरुमा बेरोजगार रहेका श्रमिकलाई सहभागि गराउनुका साथै वैदेशिक रोजगारबाट फर्किएका जनशक्तिहरुको परिचालन गरी रोजगारको अवसर सृजना गरिने अध्यक्ष यादवले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
ज्येष्ठ नागरिक, अशक्त, असहायहरुका लागि घरदैलो उपचार कार्यक्रम सञ्चालन गरि प्लाष्टिक जन्य र वातावरण प्रदूषित बनाउने दैनिक प्रयोगका सामग्रीलाई निरुत्साहित गर्दै आगामी आर्थिक वर्ष भित्र सुरक्षित नागरिक आवास नीति अनुरुप परालको घर न्यूनीकरणमा जोड दिइने नीति तथा कार्यक्रममा भनिएको छ ।
गाउँसभाको बैठकमा उपाध्यक्ष पुष्षा श्रेष्ठ लौगीले अगामी आर्थिक वर्ष २०८२/०८३ का लगि ४८ करोड ५५ लाख ४३ हजार चार सय ३१ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।
सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानिकरण नौ करोड ४२ लाख, राजस्व बाँडफाँट नौ करोड ५५ लाख, सशर्त अनुदान २३ करोड ८९ लाख, समपुरक अनुदान दुई करोड १५ लाख र विशेष अनुदान एक करोड रुपियाँ बजेटमा उल्लेख छ ।
यस्तै, मधेश प्रदेश सरकारबाट प्राप्त हुने अनुदानअन्तर्गत समानिकरण ६५ लाख २० हजार, राजस्व बाँडफाँट ५३ लाख ६८ हजार र सम्पुरक अनुदान २० लाख, प्रदेश सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख र आन्तरिक श्रोतबाट ६० लाख रुपैयाँ आय अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले जानकारी दिनुभयो ।