• १० असार २०८२, मङ्गलबार

पुल ढलानका लागि राखियो बिम

blog

पुलमा राख्न लैजाँदै गरिएको आरसिसी बिम । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, असार १० गते  । मुग्लिङ–मलेखु सडकखण्डका चार वटा पुलमा आरसिसी बिम राख्ने काम सकिएको छ । पुलमा बिम राख्नका लागि गरिएको रातिको बन्द आइतबारबाट खुला गरिएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डका प्रमुख केदार नेपालले अहिलेलाई चार वटा पुलमा बिम राख्ने काम सकिएकाले केही दिनबाट बिममाथि स्ल्याब राख्ने काम गर्ने बताउनुभयो । यता राति खुला गरिए पनि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडकको एउटा पुलमा बिम गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आइतबार र सोमबार राति बन्द हुने प्रमुख नेपालले जानकारी दिनुभयो । 

पश्चिम खण्डमा बरबाङ, मोवा, खटौती र गोमतीखोलाको पुलमा आरसिसी बिम राखिएको थियो । ती पुलमा ढलान गर्ने काम छिटो हुने छ । दुई वटा असार मसान्तभित्रमा र अर्को दुई वटा साउन भदौमा सम्पन्न गर्ने तयारी रहेको प्रमुख नेपालले बताउनुभयो । चार वटै पुल दसैँअगाडि सम्पन्न गरेर सवारीसाधन सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभयो । भारतबाट ठुलो व्रmेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० देखि असार ७ सम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो । नौबिसे–मलेखु खण्डमा निर्माणाधीन गलौदीखोलामा बिम राख्न लागिएको छ । 

मुग्लिङदेखि मलेखुसम्मको ३८.८६ किलोमिटर क्षेत्रमा सडक विस्तार र कालोपत्रेको काम भइरहेको कार्यालयले जानकारी दिएको छ । यसको अहिलसम्म ३३ प्रतिशत काम सम्पन्न भएको कार्यालयका प्रमुख नेपालले जानकारी दिनुभयो । आठ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । अहिले दुई किलोमिटर कालोपत्रे गर्ने तयारी भइराखेको छ । असार मसान्तसम्म १० किलोमिटर कालोपत्रे सम्पन्न हुने छ । चार अर्ब ८० करोड ५९ लाख ७४ हजार ९१२ रुपियाँ ६४ पैसामा ठेक्का लागेको थियो । शर्मा जेडआइसिजी जेभीले निर्माणको ठेक्का पाएको कम्पनीले २०७९ मङ्सिर ७ गते सम्झौता गरेको थियो । सडक विस्तार २०८२ पुस १३ गते सम्पन्न गर्नुपर्ने रहेको छ ।