ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार १० गते । पर्यटन क्षेत्रको विकासबाट आर्थिक समृद्धि हासिल गर्न धवलागिरी गाउँपालिकाले ‘एक वडा एक पर्यटन परियोजना’ सञ्चालन गर्ने भएको छ । गाउँपालिका भित्र पर्यटकीय सम्भावनाका क्षेत्रहरुको पहिचान गरी पर्यटन प्रवर्धन तथा विकास परियोजना सञ्चालन गरिने भएको हो । संसारको सातौं अग्लो धौलागिरी हिमाल यसै गाउँपालिका भित्र पर्दछ ।
सोमबार साँझ सम्पन्न भएको गाउँपालिकाको २४ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामीसँग संसारको सातौं अग्लो धौलागिरी हिमाल छ । प्रत्येक वडामा संभावनायुक्त पर्यटकीय स्थलहरु छन् । पर्यटन क्षेत्रको विकास र प्रवर्धन गरेर पालिकाले आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य सहित ‘एक वडा एक पर्यटन परियोजना’ सञ्चालन गर्न खोजेका छौं ।’’ पर्यटको विकास गरेर पालिकावासीको जीवनस्तर उकास्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
धौलागिरी पर्यटन वर्ष गाउँपालिका भित्रनै आयोजना गर्ने, जलजला पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन गर्ने, जलजला क्षेत्रमा व्यवसाय सञ्चालन गर्न नीजि क्षेत्रको लगानी भिœयाउने नीति अबलम्बन गरिने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी, गाउँपालिकाले वडा नम्बर १, गुर्जा नमुना पर्यटकीय गाउँ निर्माण योजना, वडा नम्बर २, लुलाङमा जलजला पर्यटकीय क्षेत्र प्रवर्धन, वडा नम्बर ३, मुनामा नर्जाखोला झरना, ड्याम र पार्क निर्माण योजना, वडा नम्बर ४, मुदीमा धौलागिरी हिमाल पर्यटन तथा बगर हटस्प्रिड तथा प्राकृतिक चिकित्सा प्रवर्धन कार्यक्रम, वडा नम्बर ५, मल्कबाङमा छन्त्याल संस्कृति संरक्षण तथा पुरातत्व सङ्ग्रहालय निर्माण, वडा नम्बर ६, मराङमा राम्चे र थलाधुरीमा पर्यटकीय पूर्वाधार विकास परियोजना र वडा नम्बर ७, ताकममा बाघराज, ताकमकोट हुँदै मालिका पदमार्ग पर्यटन परियोजना संचालन गरिने नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिएको छ ।
मुदीदेखि खलडाँडा हुँदै मालिका जोड्ने पदमार्ग, मल्कबाङदेखि पुतलीडाँडा रिखार हुँदै मुस्ताङ जाने पर्यटकीय पदमार्गको विकास गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै पालिका भित्र पर्यटन पदमार्ग निर्माण, सामुदायिक होमस्टे, धार्मिक पर्यटन, लोकसंस्कृतिको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष रेशम पुनले बताउनुभयो ।
गाउँपालिकाले मुना, मालिका, गुज्ज्रे, जलजला, रुघाचौर, गुर्जा, मुदी, धौलागिरी आधार शिविरसम्म पर्यटकीय पदमार्ग विस्तार गर्न सङ्घीय सरकारसँग सहकार्य गर्ने नीति लिएको छ ।
यसैगरी, गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको बजेट गाउँपालिकाले सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो । उपाध्यक्ष पुनले आगामी आर्थिक वर्षका २०८२/०८३ का लागि प्रस्ताव गर्नुभएको ४६ करोड ५६ लाख ६ हजार पाँचसय ६३ रुपियाँको बजेट गाउँसभाबाट पारित भएको अर्यालले जानकारी दिनुभयो ।
कृषि, पर्यटन, सामाजिक विकास,खानेपानी तथा सरसफाई पूर्वाधार विकास र संस्थागत विकास तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।
आर्थिक विकास तर्फ कृषि, पशुपंक्षी, सहकारी र पर्यटन क्षेत्रको विकासका लागि ५२ लाख, शिक्षा र खेलकुदमा ३५ लाख, खानेपानीका लागि नेपाल स्वास्थ्य पानी कार्यक्रमसँग साझेदारीसहित ४५ लाख र सामाजिक विकास तर्फ २३ करोड २१ लाख ९० हजार प्रस्ताव गरिएको छ ।
यसैगरी, पूर्वाधार तर्फ दस करोड ९५ लाख र संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँच सय ६३ रुपियाँ विनियोजन गरिएको छ । वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५२ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँच सय ६३ रुपियाँ बजेट विनियोजन गरिएको छ ।
पालिकाको दुर्गम वडाका रुपमा रहेको गुर्जामा आगामी आर्थिक वर्ष भित्र सडक पुर्याउन सङ्घीय समपुरक अनुदान र गाउँपालिकाबाट एक करोड ७५ लाख रुपियाँ विनियोजन गरेको उपाध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार ताकम मुना जोड्ने सडकलाई वैकल्पिक सडकका रुपमा विकास गर्न ताकम हिलापोखरी हुँदै मुना सडकलाई प्रदेश समपुरक योजना र गाउँपालिकाको तर्फबाट एक करोड विनियोजन गरिएको छ ।