छविलाल पाण्डे
बुटवल, असार १० गते । रुपन्देहीको बेलबास–बेथरी सडक विस्तारको काम नौ वर्षसम्म पनि पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा र यात्रु लामो समयसम्म सास्ती बेहोर्न बाध्य भएका छन् । विसं २०७३ देखि सुरु भएको बुटवलको बेलबासदेखि बेथरी हुँदै लुम्बिनी जाने २१ किलोमिटर सडक विस्तार कार्य अझैसम्म पूरा नहुँदा स्थानीय बासिन्दाका साथै उक्त सडक भएर आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नु परेको हो ।
समयमै काम सम्पन्न नहुँदा बेलबास–बेथरी सडकखण्ड अन्तर्गत बुटवलको नहरपुर र रानीगन्ज क्षेत्रका बासिन्दा पानी पर्दा हिलो र सुक्खायाममा धुलोले सास्ती बेहोर्दै आएका छन् । सडकको बिचमा परेको खाल्टाखुल्टीले हैरान भएपछि स्थानीयले विगत दुई वर्षअघि सङ्घर्ष समिति नै बनाएर बेला बेलामा विरोध गर्दै आए पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
स्थानीय सङ्घर्ष समितिका संयोजक विजय ढकालले नौ वर्षदेखि अधुरो रहेको सडक विस्तारको काम छिटो पूरा गर्न स्थानीयवासीले पटक पटक सडक कार्यालय, प्रमुख जिल्ला अधिकारी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई समेत आग्रह गरे पनि सुनुवाइ नभएको बताउनुभयो । वर्षा सुरु भएकाले तत्कालका लागि खाल्टाखुल्टी पुर्ने र बाँकी काम पनि यथाशीघ्र सम्पन्न गर्नुपर्ने उहाँको माग छ । सङ्घर्ष समितिका संयोजक ढकालले तत्काल काम सुरु नगरे पुनः आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घ सरकारले सडक विस्तार गर्ने हो कि प्रदेश सरकारले हो, जसले गरे पनि यो काम चाँडै हुनुप¥यो भन्ने हाम्रो माग हो ।”
बुटवल–बेलबास हुँदै लुम्बिनी जाने यो सडक दुई खण्डमा विभाजन गरेर निर्माण सुरु भएको थियो । यस अन्तर्गत दोस्रो प्याकेजमा आठ किलोमिटर निर्माण गर्ने ठेक्का वज्रगुरु कान्छाराम जेभीले लिएको थियो । उक्त कम्पनीले निर्माण गर्ने जिम्मा लिएको खण्डमा विभिन्न पाँच ठाउँमा ससाना काम अलपत्र हुँदा यात्रुले कष्ट बेहोर्नु परेको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रम अन्तर्गत सडक विभागले २०७३ सालमा २१ किलोमिटर सडक विस्तारको ठेक्का लगाएको थियो । ठेक्का सम्झौता अनुसार २०७६ सालसम्म निर्माण सक्ने समयसीमा तोकिएको थियो ।
वज्रगुरुले साढे आठ किलोमिटरको प्याकेज २०७६ असार मसान्तसम्म सक्नुपर्ने थियो तर छ पटकसम्म म्याद थप्दै २०८१ चैतसम्म सम्पन्न गर्ने सीमा बढाइए पनि अहिलेसम्म काम पूरा भएको छैन । पछिल्लो समय ठेकेदार प्रतिनिधि पनि सम्पर्कमा नआउने र बहुबर्से योजना अनुसार थप बजेट पनि नआएकाले सडक कालोपत्रे, कलभर्ट, सडकपेटी निर्माण गर्नेलगायतका काम बाँकी रहेको सडक पूर्वाधार विकास कार्यालयको भनाइ छ ।