• १० असार २०८२, मङ्गलबार

ताप्लेजुङका पाँच स्थानीय तहको बजेट साढे दुई अर्बभन्दा बढी

blog

मेरिङ्देन गाउँपालिकाको कार्यालय । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङ्लिङ, असार १० गते ।
ताप्लेजुङको पाँच स्थानीय तहहरूले दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ रुपियाँको बजेट प्रस्तुत गरेको छ । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाका पाँच गाउँपालिकाले बजेट प्रस्तुत गरेको हो ।

बजेट प्रस्तुत गर्ने गाउँपालिकाहरूमा सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका र मैवाखोला गाउँपालिका रहेका छन् । सबैभन्दा पहिले गत असार पाँच गते सिदिङ्वा गाउँपालिकाले ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो ।

गाउँपालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी कडरियाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । सिरिजङ्घा गाउँपालिकाले आइतबार साढे ५८ करोड बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि पालिका उपाध्यक्ष डा। चित्र माबोले ५८ करोड ७४ लाख ८ हजार ८६३ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

यस्तै, सोमबार आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले एकै दिन बजेट प्रस्तुत गरेका थिए । जसमा आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ३६ लाखभन्दा बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको २१ औं गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि पालिका उपाध्यक्ष शान्ता कुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेटको चालु तर्फ ३३ करोड ७६ लाख ७२ हजार २०५ रुपियाँ, पुँजीगत तर्फ १८ करोड ५९ लाख ८१ हजार ७७५ रुपियाँ प्रस्तुत गर्नुभएको छ ।

मेरिङ्देन गाउँपालिकाले भने ५० करोड ५७ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँसभा मार्फत पालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले ५० करोड ५७ लाख ५० हजार ९२८ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

यस्तै, मैवाखोला गाउँपालिकाले ४४ करोड ७१ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँसभा मार्फत पालिका उपाध्यक्ष असली माया लिम्बूले ४४ करोड ७१ लाख १५ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । बाँकी फुङ्लिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका र पाथिभरा याङवरक गाउँपालिकाको बजेट मङ्गलबार प्रस्तुत हुने भएको छ ।