• १० असार २०८२, मङ्गलबार

बढ्यो चिया निर्यात अर्गानिक उत्पादनमा समस्या

blog

कोकिला ढकाल

इलाम, असार १० गते । चालु आर्थिक वर्षको ११ महिनामा नेपाली अर्थोडक्स चिया निर्यातमा ४०.५ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष उत्पादन पनि राम्रो भएकाले निर्यातको अवस्था राम्रो भएको उद्योगीले बताएका छन् । नेपाली चियाको निर्यातको अवस्था हेर्दा पनि गत वर्षभन्दा यो वर्ष निकै राम्रो छ । चालु आवको ११ महिनामा तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजार मूल्य बराबरको चिया निर्यात भएको झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले जनाएको छ । यो अवधिमा एक करोड ४४ लाख ६३ हजार ३३५ किलो चिया निर्यात भएको छ । 

आव २०८०/८१ को ११ महिनामा भने दुई अर्ब ५२ करोड ८३ लाख दुई हजार रुपियाँ मूल्यको चिया निर्यात भएको थियो । गत वर्ष एक करोड १४ लाख ९२ हजार ७५६ किलो चिया निर्यात भएको छ ।

उत्पादित तयारी चियामध्ये धेरै भारतमा निकासी हुने गरेको छ । उच्च गुणस्तरको अर्गानिक प्रमाणीकरण भएको चिया मात्र तेस्रो मुलुक गएको छ । युरोप, अमेरिका, जापान, रुसलगायतमा पठाउने चिया व्यवसायीले पनि नेपाली चियाको माग राम्रो आएको बताएका छन् । 

देशभरका चिया उद्योगीको संस्था सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले पनि यस वर्ष चियाको माग राम्रो भएको जनाएको छ । ५२ चिया उद्योग आबद्ध एसोसिएसनका महासचिव गोपाल कट्टेलले अहिले किसानलाई दिने मूल्य पनि राम्रो रहेको बताउनुभयो । मुना हेरेर प्रतिकिलो ४० देखि ६० रुपियाँका दरले किसानबाट उद्योगीले हरियो पत्ती खरिद गरिरहेको कट्टेलको भनाइ छ ।

“अहिलेसम्म उत्पादन र निर्यात राम्रो छ तर अब भने भारतले नेपाली चियालाई ४० प्रतिशत जिएसटी शुल्क लिने तयारी गरेको खबर आउँदै छ । यसले भने नेपाली चियालाई निकै समस्या पार्छ,” उहाँले भन्नुभयो । कट्टेलका अनुसार अहिलेसम्म चिया व्यापारीले पाँच प्रतिशत जिएसटी तिर्ने गरेका थिए । अब ४० प्रतिशत पुगेपछि त्यो कर पनि नेपाली किसानको थाप्लोमा पर्दा चियाको मूल्य कत्ति पनि हुँदैन । 

कट्टेलले भारत सरकारले लगाउन लागेको ४० प्रतिशत थप करको विषयमा नेपाल सरकारलाई जानकारी गराउन र ध्यानाकर्षण गराउन आफूहरू काठमाडौँ जाने तयारीमा लागेको बताउनुभयो । 

यता अर्गानिक चिया उत्पादन गरिहेका किसानले भने अर्गानिक र अर्गानिक नगरिएको मूल्य एउटै हुँदा आफूहरू मर्कामा परेको बताएका छन् । अर्गानिक चिया उत्पादन गर्दा लागत बढी हुने र उत्पादन कम हुने कारण किसान मर्कामा छन् । 

१५ वर्षयता अर्गानिक चिया उत्पादन गर्दै आएका सूर्योदय नगरपालिका सुन्दरपानीस्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईं अर्गानिक चिया उत्पादनमा सरकारले कहिल्यै पनि केही चासो नदेखाएको बताउनुहुन्छ ।