राजु लामिछाने
रुकुमपश्चिम, असार ९ गते । रुकुमपश्चिममा चट्याङ लागेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका १० बर्नेटीकी ५० वर्षीया गणेशा ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टका अनुसार आइतबार बेलुका स्थानीयको घरमा रहेको विद्युतको मिटरबक्समा चट्याङ परेको थियो । २५ मिटर पर रहेको आफ्नै घरमा रहेकी ओलीलाई चट्याङ लागेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते अवस्थामा रहेकी ओलीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । गएराति १२ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
ओलीका शव अहिले अस्पतालको शव गृहमा रहेको र पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी रहेको डिएसपी बिष्टले जनाउनुभयो ।