• ९ असार २०८२, सोमबार

वारागुङ मुक्तिक्षेत्रले पुरातात्विक संग्रहायलय र सूचना केन्द्र बनाउने

blog

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको २२ औं गाउँसभामा सहभागीहरु । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), असार ९ गते ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ऐतिहासिक एवम् पुरातात्विक महत्त्वलाई झल्किने गरी संग्रहायलय बनाउने भएको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर रहेको गाउँपालिकाभित्र आउने पर्यटकलाई लक्षित गरी गाउँपालिका भित्र रहेका सम्पदाको संरक्षण र प्रवर्धनसँगै पर्यटक सूचना केन्द्र बनाउने भएको हो ।

आइतबार गाउँपालिकाको केन्द्रमा आयोजित २२ औं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८२/८३ मा संग्रहायलयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने र सूचना केन्द्रका लागि २५ लाख बजेट विनियोजन गरिएको छ । गाउँसभामा अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले स्थानीय आवश्यकतालाई लक्षित गरी नीति तथा कार्यक्रममार्फत पर्यटकीय पदमार्ग बनाउने, भारतीय दूतावासले बनाएर अलपत्र अवस्थामा रहेको धर्मशाला सञ्चालन, एक वडा एक पर्यटकीय गन्तव्य, मुक्तिनाथ क्षेत्रको गुरुयोजनासहित कागबेनीमा स्नान गर्न आउने तिर्थालुलाई शौचालय र अन्य संरचना बनाउने, शिक्षा, स्वास्थ्य, वन, स्थानीय उत्पादनलगायत विभिन्न कार्यत्रमहरु प्रस्तुत गर्नुभएको थियो ।

गाउँसभामा उपाध्यक्ष डिकी गुरुङले ३५ करोड २६ लाख पाँच हजार रुपियाँको बजेट विनियोजन गर्नुभएको छ । सामाजिक सुरक्षा भत्ता बाहेक कुल विनियोजनमध्ये चालुतर्फ २० करोड ६९ लाख पाँच हजार रुपियाँ, अर्थात् ५८.६८ प्रतिशत र पुँजीगततर्फ १४ करोड ५७ लाख रुपियाँ ४१.३२ प्रतिशत रहेको छ । शसर्त अनुदानअन्तर्गतका धेरै कार्यक्रमहरू चालु खर्च अन्तर्गत समावेश रहेको छ ।

त्यसैगरी, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान सात करोड २२ लाख रुपियाँ, सङ्घीय विभाज्य कोषबाट प्राप्त हुने राजस्व बाँडफाँट नौ करोड २५ लाख रुपियाँ, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ६२ लाख ७३ हजार रुपियाँ, प्रदेश राजश्व बाँडफाँट ४६ लाख ६० हजार रुपियाँ, गण्डकी प्रदेशबाट समपुरक अनुदानअन्तर्गत ६० लाख रुपियाँ, शसर्त अनुदानअन्तर्गत ४० लाख रुपियाँ, आन्तरिक राजस्वबाट ६५ लाख रुपियाँ र सङ्घीय सशर्त अनुदानअन्तर्गत आठ करोड ७६ लाख रुपियाँ रहेको छ ।

गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा उक्त स्रोतबाट खर्च व्यहोर्दा चार करोड ६१ लाख न्यून हुने देखिएकोमा चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दातबाट पूर्ती गरिने प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो । पाँच गाउँपालिका रहेको मुस्ताङमा पहिलो गाउँसभा वारागुङ मुक्तिक्षेत्रले गरेको छ ।