• ९ असार २०८२, सोमबार

बरेङको बजेट ३८ करोड ९० लाख

blog

बरेङ गाउँपालिकाको बजेट प्रस्तुत गर्दै उपाध्यक्ष दिलिपकुमार पुन । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, असार ९ गते ।
दक्षिण बागलुङको बरेङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ करोड ९० लाखको बजेट ल्याएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि दुई करोड रुपियाँ विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८२÷०८३ को प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उपाध्यक्ष दिलीपकुमार पुनले जम्मा ३८ करोड ९० लाख ४० हजार आठ सय २८ रुपियाँ खर्च हुने अनुमानको बजेट प्रस्तुत गर्नुभएको हो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान सात करोड ४१ लाख, सङ्घीय कोषबाट प्राप्त हुने राजश्व बाँडफाँट (वन रोयल्टी र विद्युत समेत) ६ करोड ५३ लाख ९२ हजार ६ सय २०, सशर्त अनुदान चालुबाट १८ करोड ७६ लाख, सशर्त अनुदान पुँजीगतबाट २५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८८ लाख ८५ हजार, प्रदेश राजश्व  बाँडफाँट ५९ लाख ७४ हजार, नेपाल सरकारबाट प्राप्त समपूरक अनुदान ९१ लाख, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान ४० लाख र समपूरक अनुदान ६० लाख तथा वर्षको मौज्दात ७७ लाख ८९ हजार रुपियाँमा आन्तरिक आय ३५ लाख जोडेर ती योजना पुरा गर्ने लक्ष्य राखिएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

त्यसबाट प्रशासनिक खर्चतर्फ चार करोड ९८ लाख ४९ हजार र पुँजीगततर्फ सात करोड चार लाख ८० हजार खर्च गरिने छ । वडा स्तरीय कार्यक्रमका लागि तीन करोड र विषयगत शाखाहरूका लागि तीन करोड ५६ लाख १६ हजार रुपियाँ खर्च हुनेछ ।

कृषि फसलको उत्पादन बढाउन ‘‘आफ्नै बारी, आफ्नै तरकारी’’ नारालाई बरेङ गाउँपालिकाले जोड दिएको छ । नीति तथा कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले तरकारी खेतीमा आत्मनिर्भर बन्ने लक्ष्य राख्नुभएको छ । त्यसका लागि सुखौरालाई च्याउ पकेट बनाउने पनि उद्घोष गर्नुभएको छ ।  

कृषि उत्पादनमा लागेका किसानलाई प्रोत्साहन गर्ने, किसानको उत्पादनलाई बजारमा जोड्न सघाउने लगायतको नीति तथा कार्यक्रममा उल्लेख छ । ‘‘अपनाऔ, हरियाली खेतबारी, समृद्ध गाउँ बनाऔं’’ भन्ने नारा पनि लिइएको छ । कृषि उत्पादन वृद्धि गर्न एकीकृत बाली संरक्षण तथा जैविक विषादी उपयोगमा पनि जोड दिइएको छ ।