नेपाल प्राकृतिक स्रोतको धनी मुलुक हो । हिमाल, पहाड र तराईले बनेको यो देशमा एकातिर जलस्रोत र अर्कातिर खनिज स्रोतको भण्डार छ । जलस्रोतमा विश्वकै दोस्रो धनी नेपालले ८३ हजार मेगावाट बिजुली उत्पादन गर्ने क्षमता राख्छ । अहिलेसम्म ३५ सय मेगावाट बिजुली उत्पादन गरेर भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्न थालेको छ । आगामी १० वर्षमा थप २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गरी भारतमा १० हजार र बङ्गलादेशमा पाँच हजार मेगावाट बिजुली निर्यात गर्ने योजना छ । यसका लागि ठुलो लगानी जुटाउन आवश्यक छ । नेपालमा खनिज स्रोतको पनि कमी छैन । सुन, तामा, फलाम, स्टिल, प्राकृतिक ग्यासलगायतका खनिज पदार्थ रहेको विभिन्न अध्ययनले देखाएको छ । दैलेखमा प्राकृतिक ग्यास छ भन्ने धेरै पहिलेदेखि नै जानकारीमा आएको विषय हो तर कति ग्यास छ भन्ने यकिन थिएन । मित्र राष्ट्र चीनको सहयोगमा त्यहाँ अध्ययन अन्वेषण गर्दा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । यो सबै नेपालीका लागि खुसीको कुरा हो । चाइना जिओलोजिकल सर्भेको अध्ययनले यो कुरा पत्ता लागेको हो । यो स्थान दैलेखको भैरवी गाउँपालिकास्थित जलजलेमा पर्छ । सन् २०१९ देखि अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक अध्ययनले नेपाललाई ५० देखि ६० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको देखाएको हो । प्राकृतिक ग्यासको उत्पादन सुरु भई प्रयोगमा आउन थालेपछि एलपी ग्यासको आयातलाई विस्थापन गर्न सक्ने देखिएको छ । अहिले वार्षिक ५५ अर्ब रुपियाँको एलपी ग्यास आयात हुन्छ । अध्ययनको प्रारम्भिक प्रतिवेदनले एक वर्षभित्रमा उत्पादन परीक्षणमा जान सक्ने देखाएको छ । चीन सरकारको अनुदानमा दुई अर्ब ४० करोड रुपियाँ लागतमा छ वर्ष लगाएर सो अध्ययन गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययनको विस्तृत प्रतिवेदन आइसकेपछि एक वर्षभित्रमा उत्पादन र परीक्षणको काम सुरु गरिने जानकारी गराएको छ । ग्यास उत्पादन र प्रशोधनका लागि ठुलो लगानी गर्नु पर्छ । यसका लागि अर्थ मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिने छ । यसका लागि चीन सरकार सकारात्मक छ । चीनको सहयोगमा विस्तृत प्रतिवेदन आइसकेपछि ७५ दिनमा ग्यासको प्रारम्भिक उत्पादनको काम सुरु गरिने तयारी पनि गरिएको छ । वातावरणमैत्री ठुलो मात्रामा पाइएको प्राकृतिक मिथेन ग्यासको कुल मूल्य ८५ अर्ब अमेरिकी डलर बराबर हुने अनुमान छ । चीनले अध्ययनसँगै ग्यासको परीक्षण पनि आफैँले गर्न प्रस्तावसमेत गरेको मन्त्रालयले जनाएको छ । प्राकृतिक ग्यास अन्वेषण गर्न हालसम्म चार हजार १३ मिटर ड्रिल गरिएको र जहाँ ९० प्रतिशतभन्दा बढी मिथेन ग्यास रहेको पाइएको अध्ययनले देखाएको छ । यसको व्यावसायिक उत्पादनका लागि हाल सञ्चालनमा रहेका कम्पनी, नयाँ कम्पनी खोल्नुपर्ने र निजी क्षेत्रलाई उत्पादन गर्न दिनुपर्ने हुन्छ । सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गरिदिने समझदारी भएको थियो । यस्तै सन् २०१७ अगस्तमा चीनसँग पेट्रोलियम पदार्थ अध्ययनका लागि सहयोग गर्ने सम्झौता भएको थियो । सन् २०१९ फेब्रुअरीमा कार्यान्वयनका लागि खानी तथा भूगर्भ विभाग र चाइना फिजियोलोजी सर्भेसँग सम्झौता भएको थियो । सर्भेको प्रारम्भिक अध्ययनको प्रतिवेदन बुझाउने अवधि सन् २०२५ को डिसेम्बरसम्म छ ।
चीनको सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङका लागि चार हजार १३ मिटर गहिराइसम्म खनेको थियो । चिनियाँ जियोलोजिकल सर्भे कम्पनीबिच उत्खनन गर्न दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगको सम्झौता भएको थियो । चाइना जिओलोजिकल सर्भे कम्पनीले सन् २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । सङ्घीय सरकारले पेट्रोलियम पदार्थ अन्वेषणको काम अघि बढाउन ४५ रोपनी जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको थियो । मुलुकमा वार्षिक ५५ अर्ब रुपियाँ बराबरको पाँच लाख मेट्रिक टनभन्दा बढी खाना पकाउने एलपी ग्यास आयात भइरहेको बेला त्यसलाई प्रतिस्थापन गर्न सक्ने गरी स्वदेशमै प्राकृतिक ग्यास फेला पर्नु हाम्रा लागि खुसीको कुरा हो । खानी तथा भूगर्भ विभागले दाङ, पाल्पा र सुनसरीमा करिब ४३० अर्ब घनमिटर ग्यास रहेको अनुमान गरेको छ । यसको अध्ययन गर्न भने बाँकी छ । स्वदेशमा प्राकृतिक ग्यासको भण्डारण फेला परेपछि यसबाट एकातिर एलपी ग्यासको आयात प्रतिस्थापन हुने छ भने अर्कातिर रोजगारीको अवसर सिर्जना हुने छ । थप ग्यास पाइने स्थानको अध्ययन र अन्वेषण गरी पर्याप्त ग्यास निकाल्न सक्ने हो भने निर्यात गर्न पनि सकिने छ ।