साहारा लिम्बू
फुङ्लिङ, असार ७ गते । ताप्लेजुङको कारागारमा क्षमताभन्दा पाँच गुणा बढि कैदीबन्दी रहेका छन् । शनिबार फुङ्लिङमा नेपाल मानव अधिकार वर्ष पुस्तिका २०२६ प्रकाशन गर्न पूर्व भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा सो जानकारी भएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका कारागार ताप्लेजुङमा अहिले १४१ जन कैदी रहेको उल्लेख गरेको छ । जसमा ११ जना ज्येष्ठ नागरिक रहेका छन् । कारागारको क्षमता भने २५ जनाको मात्र रहेको छ । यसैगरी, महिला कैदीबन्दीका लागि कारागार नभएका कारण अन्य जिल्लामा हस्तान्तरण गरिँदै आएको छ ।
जिल्लामा आपराधिका क्रियाकलाप बढेकाले कैदी बन्दीको सङ्ख्या पनि बढेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि पनि प्रहरीहरू सक्रिय रुपमा लागेका छन् ।
यसैगरी, पत्रकारले क्षमताभन्दा धेरै कैदीबन्दी कारागारमा राख्दा मानवअधिकार उल्लङ्घन भएन भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले राज्यको संरचनाको अभाव भएका कारणले गर्दा क्षमताभन्दा बढी कैदी राख्न बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भवनका लागि जग्गा छ, तर भवन निर्माणका लागि स्रोतको अभाव छ ।’’
यस्तै, पछिल्लो छ महिनामा जिल्लामा घरेलु हिंसाका घटना ११, बहुविवाह एक, कर्तव्य ज्यान एक, ज्यान मार्ने उद्योग पाँच, जबरजस्ती करणी सात र जबरजस्ती करणी उद्योगका एक घटना भएका छन् । योसँगै अभद्र व्यावहारका सात, आपराधिक उपद्रो र हुलदङ्गा गरेको तीन गरी जम्मा ३५ वटा घटना भएको इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।