कालीकोट समाचारदाता
कालीकोट, असार ७ गते । गाउँघरमा हिँड्ने, मादल बनाउने, गीत गाउँदै जीविका चलाउँदै आएका कर्णालीका बादी समुदाय पछिल्लो समयमा आफ्नो सुरक्षित भविष्यको खोजी गर्न थालेका छन् । दैलेख, जाजरकोटका बादी समुदायले आफ्नो बस्ती विकाससँगै दीर्घकालीन योजनाको पनि माग गरेका छन् ।
दैलेखको दुल्लु नगरपालिका–१, तल्लो डुङ्गेश्वरस्थित नमुना बस्तीमा ३२ घरधुरी बादी समुदायको बसोबास छ, उनीहरू हाल जीविकोपार्जन र रोजगारीको गम्भीर सङ्कटमा परेका छन् । बर्सेनि हुने बसाइँसराइले जनसङ्ख्या घटबढ भइरहने यो समुदायका घर भूकम्पका कारण चर्किएका छन् । दुल्लु नगरपालिका–१ का वडाध्यक्ष तर्कबहादुर खड्काका अनुसार पहिले बालुवा, गिट्टी बोक्ने, गाडी लोड अनलोड गर्नेलगायतका श्रममा आधारित काममार्फत गुजारा चलाइरहेका समुदाय अहिले बेरोजगारीको चपेटामा परेका छन् । अहिले बादी समुदायको प्रमुख चुनौती भनेको दीर्घकालीन रोजगारीको अभाव भएको उहाँले जनाउनुभयो ।
यस्तै जाजरकोटको नलगाड नगरपालिका–७ स्थित भेरीखोला किनारमा रहेका ४५ घरधुरीको बादी बस्तीको समस्या पनि उस्तै छ । बस्ती पनि उच्च जोखिममा रहेको छ । बाढी, नदी कटान र जलवायुजन्य जोखिमले उनीहरूको बस्ती प्रभावित भइरहेको छ । विगतमा भारी वर्षाका कारण बाढी आउने र बस्ती डुबानमा पर्ने साथै व्यक्तिगत सामान नोक्सान हुने अवस्था दोहोरिने चिन्ता उनीहरूमा छ ।
नलगाड नगर कार्यपालिकाका सदस्य सीता बादीले दीर्घकालीन समाधानका लागि भूमि अधिकार अझै पनि प्रमुख चुनौती बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “तीन पुस्तादेखि यहीँ बसिरहेको तर आफ्नो नाममा न जमिन छ, न घर ।” बाढी नियन्त्रण, विकासका परियोजना र जमिन अभावले हामीहरूको अस्तित्व सङ्कटमा परेको गुनासो गर्नुभयो । बादी समुदायको जीविकोपार्जनका लागि गैरसरकारी संस्थाको पनि खासै ध्यान देखिँदैन । पछिल्लो समय बेलायत सरकारको सहयोगमा सञ्चालित स्थानीय पूर्वाधार सहयोग कार्यक्रममा केही सहज भएको छ । बाख्रापालन, बङ्गुरपालन, सिलाइकटाइ तालिम, सिँचाइ कुलो, फर्निचर बनाउने र मादल बनाउने तालिमलाई समेत प्राथमिकतामा राखिँदा बादी समुदायको जीविकोपार्जनमा सहज हुने देखिन्छ । उनीहरूलाई जीविकोपार्जनका अवसर प्रदान गर्न सके, हातमुख जोर्ने समस्या समाधान हुनुका साथै आर्थिक सुधार सम्भव देखिने दुल्लु नगरपालिका–१ का वडाध्यक्ष तर्कबहादुर खड्काले बताउनुभयो । २०७८ को जनगणना अनुसार देशभर ११ हजार ४७० जना बादी समुदायको जनसङ्ख्या छ ।