• ६ असार २०८२, शुक्रबार

पानीका मूल सुक्न सक्ने भन्दै चिन्ता

blog

म्याग्दी समाचारदाता

म्याग्दी, असार ६ गते । अन्नपूर्ण गाउँपालिका क्षेत्रमा कालीगण्डकी किनारमा रहेको तातोपानीका मुहान जलविद्युत्का कारण सुक्ने सम्भावना भएको भन्दै स्थानीयले चिन्ता गरेका छन् । कालीगण्डकी नदीमा निर्माण सुरु भएका र हुन लागेका जलविद्युत् आयोजनाका कारण पानीका मुहान सुक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानीमा आयोजना गरिएको ६६.३ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइमा सर्वसाधारणले यस्तो चिन्ता व्यक्त गरेका हुन् । 

हाइड्रो सपोर्ट प्रालिले निर्माण गर्न लागेको उक्त जलविद्युत् निर्माण हुँदा पिउने पानी तथा तातोपानीको मुहानमा कुनै असर नपर्ने गरी मात्रै काम हुनुपर्नेमा स्थानीय बासिन्दाले जोड दिएका छन् । तातोपानीका स्थानीय अनिल हिराचनले विगतमा कालीगण्डकीको सतह अनुसार तातोपानीको मुहानको स्थान फेरिएको सुनाउनुभयो । आयोजनाले नदी प्रणालीमा कम्तीमा १० प्रतिशत पानी छाड्ने कुरा ३६५ दिन नै हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हाम्रो मृत्यु संस्कार कालीगण्डकी नदी बगेको किनारमा हुँदै आएको छ, पानी सुरुङमा हालेपछि नदी प्रणालीमा पानी बग्न छाड्ने हो कि भन्ने चिन्ता छ ।”

अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष ओम फगामीले अन्नपूर्ण क्षेत्रमा अन्य जलविद्युत् आयोजना निर्माणको क्रममा विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ बनाउँदा कम्पनका कारण पानीको मुहान सुकेको बताउनुभयो । 

आगामी दिनमा पानीका मुहानमा असर नपर्ने गरी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले कालीगण्डकी नदी मात्रै नभएर मानव सभ्यता पनि भएको हुनाले यसलाई जोगाउनुपर्ने धारणा राख्नुभयो । कालीगण्डकी नदी नै रहेन भने यहाँको बसोबास र सभ्यता पनि नरहनेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका हाइड्रो सपोर्ट प्रालिका चन्द्रप्रसाद ढकालले तातोपानीको मुहान बचाउँदै स्थानीय जनजीवनमा कुनै पनि प्रभाव नपर्ने गरी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । कुनै पनि अवस्थामा स्थानीयलाई असर नपर्ने गरी काम गर्ने तयारी रहेको सुनाउँदै उहाँले त्यसमा आफ्नो प्रतिबद्धता रहेको धारणा राख्नुभएको थियो ।

जलविद्युत् आयोजना निर्माणका क्रममा सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका लागि नौ करोड ७० लाख २४ हजार रुपियाँ विनियोजन गरिने जानकारी गराइयो । निर्माण थालिएको चार वर्षमा सम्पन्न हुने उक्त आयोजनाको १२ अर्ब ९३ करोड ६४ लाख ७५ हजार ७३० कुल लागत रहेको छ । 

भूमिगत विद्युतगृह रहने उक्त आयोजना निर्माण गर्दा अन्नपूर्ण गाउँपालिकाको २, ३, ४, ५ र ६ नम्बर वडा प्रभावित हुने भएका छन् । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ को पोखरेबगरभन्दा ठिक पारी अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ मा भूमिगत रहने विद्युतगृहबाट अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३, दानामा रहेको सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान हुने बताइएको छ ।