प्रतीक इच्छुक शर्मा
सल्यान, असार ६ गते । सल्यानको शारदा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब १९ करोड २९ लाख १२ हजार रुपियाँको बजेट पारित गरेको छ । दुई दिन सम्म सञ्चालन भएको नगरसभाको १७ औँ अधिवेशनले सर्वसम्मत रूपमा बजेट पारित गरेको हो ।
नगर उपप्रमुख सुस्मिता सापकोटाले सिमित स्रोत साधन, आन्तरिक आयको कमीका बावजुद पनि नीति कार्यक्रम उल्लेख गरिएका कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम प्रवर्धन लगायत विविध क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट ल्याएको बताउनुभयो । उहाँका अनुसार आगामी वर्षका लागि सार्वजनिक गर्नुभएको बजेटमा सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान ११ करोड ६६ लाख, राजस्व बाँडफाँट ११ करोड १५ लाख ५२ हजार, शसर्त अनुदान ६७ करोड ३६ लाख ४४ हजार, समपुरक अनुदान ८७ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ५४ लाख ४६ हजार, शसर्त अनुदान नौ करोड ८४ लाख २६ हजार, समपुरक अनुदान एक करोड, सामाजिक सुरक्षा भत्ता १३ करोड ५० लाख र आन्तरिक आय दुई करोड रुपियाँ स्रोतको रूपमा उल्लेख गरिएको छ ।
विनियोजनको पक्षमा हेर्दा पूर्वाधार विकासमा सबैभन्दा ठुलो ५३ करोड ९६ लाख ७३ हजार रुपियाँ छुट्याइएको छ । त्यसपछि सामाजिक विकासतर्फ ४५ करोड ४४ लाख ५८ हजार, आर्थिक विकासमा चार करोड ५० लाख एक हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६५ लाख र संस्थागत विकास तथा सुशासनतर्फ १४ करोड ४२ लाख ८० हजार रुपियाँ विनियोजन गरिएको छ ।
शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा २५ करोड ८५ लाख, स्वास्थ्य तथा पोषणमा पाँच करोड ८९ लाख ३८ हजार, कृषि विकासमा ५८ लाख २० हजार, पशुपालन सेवामा ३७ लाख ५० हजार, महिला, बालबालिका तथा समाज कल्याणतर्फ २० लाख, खानेपानी तथा सरसफाइतर्फ ४६ करोड २४ लाख ७३ हजार, वन तथा वातावरणमा ३५ लाख, सहकारी तथा संघसंस्थामा १० लाख र विपद् व्यवस्थापनमा ३० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी, सूचना प्रविधिमा ४० लाख, अध्ययन तथा अनुसन्धानमा १० लाख, स्वास्थ्य उपचार कोषमा १५ लाख, मर्मत सम्भार कोषमा १० लाख, उपप्रमुख पोषण कोसेली कार्यक्रममा पाँच लाख, कार्यालय सञ्चालनमा पाँच करोड, कर्मचारी पारिश्रमिक तथा सुविधामा सात करोड ४४ लाख, पदाधिकारी सेवा सुविधा एक करोड ३० लाख, नगर प्रहरी एक करोड पाँच लाख, वडागत पूँजीगत तीन करोड, वडागत चालु खर्च ६९ लाख र रोजगार परियोजनामा दुई करोड ४४ लाख ३१ हजार रुपियाँ विनियोजन गरिएको छ ।
यस्तै, सवारी साधन खरिदमा ५० लाख, भुक्तानी बाँकी परियोजनामा २० लाख र क्रमागत योजनामा ८७ लाख रुपियाँ विनियोजन गरिएको छ ।
नगर प्रमुख प्रकाश भण्डारीको अनुसार यसपटकको बजेट नगरपालिकाको इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठुलो हो । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ८२ करोड ७१ लाख ९७ हजार रुपियाँको बजेट विनियोजन गरिएको थियो । शारदा नगरपालिकाको १७औ अधिवेशनको उद्घाटन कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभएको हो ।