• ६ असार २०८२, शुक्रबार

कृष्णभिरको सडक भासिने समस्या समाधानतर्फ

blog

मुग्लिङ–मलेखु सडक अन्तर्गत कृष्णभिरमा भासिएको सडकमा ‘माइव्रmो पायलिङ’ विधिबाट काम गरिँदै ।तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल

फिसलिङ (चितवन), असार ६ गते  । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर पहिरोका कारण सडक भासिने समस्या हुँदै आएकोमा अब भने स्थायी रूपमा समाधान हुने भएको छ । चार महिना लगाएर विज्ञले गरेको अध्ययनपछि ‘माइक्रो पायलिङ’ विधिबाट सडक भासिने समस्याको स्थायी रूपमा समाधान गर्ने गरी अहिले काम भइरहेको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) कार्यालय मुग्लिङका प्रमुख इन्जिनियर केदार नेपालले नेपालमै नयाँ प्रविधिबाट ‘डबल लेयर माइक्रो पायलिङ’ विधिबाट सडक भासिने समस्या समाधान गर्ने कार्य भइराखेको बताउनुभयो । 

“मौसमले साथ दिएमा यही असार महिनाभित्रमा मर्मतको काम सम्पन्न गर्ने लक्ष्य लिएका छौँ,” प्रमुख नेपालले भन्नुभयो, “यो सम्पन्न भएपछि स्थायी रूपमा नै समस्या समाधान हुनेमा विश्वस्थ छौँ ।” उहाँका अनुसार अहिले समस्या देखिएको सवारीसाधन गुड्ने भागको सडकमा हो । यसलाई पहिलो चरणमा समाधान गरिने छ । त्यसपछि त्रिशूली नदीको किनारमा पहिरो मिसिएको स्थानमा कटान गर्न नसक्ने गरी समाधान गर्ने तयारी रहेको उहाँले बताउनुभयो । तल्लो भागको विषयमा अध्ययन भइराखेको छ । त्यसको रिपोर्ट आएपछि सुझाव अनुसार मर्मत गरिने उहाँले जनाउनुभयो ।

के हो डबल माइक्रो पायलिङ

सडक भासिएको स्थानमा स्टिल (फलाम) को पिल्लर गहिरो गरी गाडेर सिमेन्टले जाम गराइन्छ । पहिरो जाने स्थानको जोखिम ठाउँ पत्ता लगाएर केही दुरीमा यसरी ठाडो र तेर्सो गरी स्टिल गाडेर सडकको भार क्षमता रोक्ने काम हुन्छ । गाडी गुड्ने सडकको एक छेउदेखि अर्को छेउसम्म तलबाट तेर्सो स्टिल राखिन्छ र ठाडो गाडेको स्टिलसँग त्यसलाई जोडिन्छ । यसरी सवारीसाधनको भार क्षमता थेग्न सक्ने गरी दुवैतिरबाट निर्माण गरिन्छ । स्टिल गाडेर तयार बनाएपछि एक अर्को पिल्लरमा जोडिन्छ । त्यसमा ग्राभेल राखेर रोल गर्दै कालोपत्रे गरेर सवारीसाधन चल्न सक्ने गरी निर्माण गरिने इन्जिनियर नेपालले बताउनुभयो ।

असारसम्म मर्मत सकिने

विसं २०५७ साउनको पहिलो हप्ता कृष्णभिरमा पहिरो आएर सडक बगाएर लगेको थियो । पहिरो पन्छाएर दुई हप्तापछि अस्थायी रूपमा सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी निर्माण गरियो । त्यही अस्थायी स्थानमा नै कालोपत्रे गरेर अहिलेसम्म यातायात सञ्चालन हुँदै आएको छ । गत वर्षको बर्सातका कारणले गर्दा मुख्य पहिरो गएको स्थानमा सडक भासिएको थियो । माथिबाट आएको पानीले सडकको छेउतर्फ खोलेर भासिन थालेपछि एकतर्फी सवारीसाधन सञ्चालन हुँदै आएका छन् । 

भासिएको सडक छेउमा प्लास्टिक ओछ्याएर पहिरो रोकथाम गरिँदै आएको थियो । बर्सातमा हुने जोखिमलाई मध्यनजर गरेर अध्ययन थालिएको थियो । बर्सातमा समस्या नआउने गरी विज्ञको टोलीले अध्ययन गरेर दुई स्थानमा जोखिम औँल्याएको नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) कार्यालय मुग्लिङका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो । अहिले सडकको मुख्य पहिरो गएको स्थानमा धेरै संवेदनशील भनेर त्यहाँ डबल माइक्रो पायलिङ एङ्करिङ गरिँदै छ । जम्मा ३० मिटर लम्बाइमा काम हुँदै आएको सूचना अधिकारी मिश्रले बताउनुभयो । यहाँ ठाडो र तेर्सो गरी दुवैबाट काम भएको छ । धेरै संवेदनशील स्थान भएकाले दोहोरो गरिएको हो, उहाँले भन्नुभयो । 

मुख्य स्थानबाहेक दायाँ र बायाँ गरी ५५ मिटर लम्बाइको सिङ्गल माइक्रो पायलिङ गरिँदै छ । डबल र सिङ्गल दुवै गरेर ८५ मिटर लम्बाइको माइक्रो पायलिङ विधिबाट सडक भासिने समस्या समाधान कार्य भइराखेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । “माइक्रो पायलिङ गरेपछि पानी छिरेर पहिरो जाने र सडक भासिने समस्या हुँदैन,” मिश्रले भन्नुभयो, “बर्सातको पानीले माटो ग्राभेल बगाउने स्थानमा पनि मर्मत कार्य भइराखेको छ,” उहाँले भन्नुभयो ।  निर्माण सम्पन्न भएको स्थानमा अन्य सामान्य सडकमा जस्तै गरी सवारीसाधन सञ्चालन गर्न सकिने इन्जिनियर मिश्रले बताउनुभयो । सडक भासिएको स्थानमा मर्मत माइक्रो पायलिङ गर्न मात्रै पाँच करोड रुपियाँको लगानीमा काम भइराखेको छ । असार मसान्तसम्म सम्पन्न गरेर सवारीसाधन निर्धक्क सञ्चालन गर्न सकिने मिश्रले बताउनुभयो ।  

दस किलोमिटर सडक कालोपत्रे

मुग्लिङदेखि मलेखुसम्मको ३८.८६ किलोमिटर क्षेत्रमा सडक विस्तार र कालोपत्रेको काम भइराखेको कार्यालयले जानकारी दिएको छ । यसको अहिलेसम्म ३३ प्रतिशत काम सम्पन्न भएको कार्यालयका सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । यसमध्ये आठ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । अब अहिले दुई किलोमिटर कालोपत्रे गर्ने तयारी भइराखेको छ । असार मसान्तसम्म १० किलोमिटर कालोपत्रे सम्पन्न हुने छ । चार अर्ब ८० करोड ५९ लाख ७४ हजार ९१२ रुपियाँमा ठेक्का लागेको थियो । शर्मा जेडआइसिजी जेभीले निर्माणको ठेक्का पाएको कम्पनीले २०७९ मङ्सिर ७ गते सम्झौता गरेको थियो । सडक विस्तार २०८२ पुस १३ गते सम्पन्न गर्नुपर्ने रहेको छ ।