सगरमाथा हिमालले सबैभन्दा अग्लो हिमालको मान्यता पाएको छ । त्यसैले गर्दा विश्वका हरेक पर्वतारोहीले यो हिमालको शिरमा एक पटक पाइला राख्ने सपना देख्छन् । यस्तो सपना देख्नु पर्वतारोहीहरूका लागि अनौठो कुरो पनि होइन । किनकि उनीहरूको आफ्नो काम नै विश्वका विभिन्न अग्ला र अप्ठ्यारा हिमाल आरोहण गरेर आफ्नो व्यक्तिगत एवं देशको नाम विश्वमा ऊँचो राख्नु रहेको हुन्छ । त्यसैले त सगरमाथा हिमाल आरोहण गर्न सक्नु जुनसुकै देशका पर्वतारोहीका लागि आफ्नो प्रतिष्ठासमेत जोडिएको हुन्छ । फलतः पछिल्लो वर्षको हरेक वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहणका लागि ठुलो भिडभाड हुने गरेको छ । हुन पनि पछिल्लो समय बर्सेनि पाँच सय जना नेपाली एवं विदेशी पर्वतारोहीले सगरमाथा हिमाल आरोहण गरिरहेका छन् । साथै त्यसरी सगरमाथा हिमाल आरोहण गर्न आएका विदेशी अनि स्वदेशी पर्वतारोहीहरूका साथमा जाने सहयोगीहरू जस्तै सरदार, गाइड, क्लाईम्बिङ शेर्पा (हाई एल्टिच्युड शेर्पा) आदि गरेर बर्सेनि आठ सयभन्दा बढी पर्वतारोही सगरमाथा हिमालको शिरमा पाइला राख्न सफल भइरहेका छन् । त्यस्तै गरेर उनीहरूका साथमा जाने कुक, किचेन ब्वाई, पोस्ट म्यान, एल्टिच्युड पोर्टर, सम्पर्क अधिकृत, याक–नाक एवं प्रकारले चौँरी गोठालोसमेत गर्दा करिब दुई हजार जनाको ठुलो भिडभाड हुने गरेको छ, सगरमाथा हिमालको आधार शिविरमा । यो क्रम ७५ दिन अर्थात् साढे दुई महिनासम्म निरन्तर जारी रहने गर्छ ।
समग्रमा सरकारले पटक पटक गरेर ४७६ वटा हिमाल पर्वतारोहीहरूले आरोहण गरुन् भनेर खुला गरेको छ । त्यसो भए तापनि बर्सेनि सगरमाथा हिमालमै पर्वतारोहीहरूको ठुलो भिड हुने गरेको देखिन्छ । यस्तो किन भइरहेको छ त ? सरकारले यसको सटिक एवं चित्तबुझ्दो जवाफ दिन सक्दैन । हुन सक्छ, सगरमाथा हिमाल विश्वको एक मात्रै अग्लो र ‘आइकोनिक’ हिमालका रूपमा स्थापित भएको हुनाले गर्दा प्रायः सबै पर्वतारोहीको आकर्षण सगरमाथामै रहेको होस् । त्यसैले हालसम्म लगभग नौ हजार पर्वतारोहीले १२ हजारदेखि १३ हजार पटक आरोहण गर्न सफल भएका छन् । त्यसरी नौ हजार पर्वतारोहीले १२ हजारदेखि १३ हजार पटक आरोहण गर्न कसरी सफल भए ? भन्दा एकै व्यक्तिले आठदेखि ३१ पटक सगरमाथा आरोहण गरिसकेका छन् । सोलुखुम्बु जिल्लाको थामे गाउँका कामीरिता शेर्पाले सन् २०२४ मा वसन्त ऋतुको एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गरेर २९ एवं ३० औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो । उहाँले नै यो वर्ष (सन् २०२५) को वसन्त ऋतुमा ३१ औँ पटक सगरमाथा आरोहण गरेर गत वर्षको आफ्नै विश्व कीर्तिमान तोड्नुभयो । अहिलेसम्म सगरमाथा आरोहणको सन्दर्भमा कामीरिताले ३१ औँ पटक सगरमाथा आरोहण गरेर दुर्लभ विश्व कीर्तिमान कायम गर्नुभएको छ । त्यस्तै सोलुखुम्बुकै पासाङदावा (पादावा) शेर्पाले पनि यही वर्षको वसन्त ऋतुमा २९ औँ पटक सगरमाथा हिमाल आरोहण गरेर दोस्रो धेरै पटक सगरमाथा हिमाल आरोहण गर्ने पर्वतारोही बन्न सफल भएका छन् ।
जे होस्, भूगर्भविद् एवं वैज्ञानिकका अनुसार सगरमाथा हिमाल ‘ग्रे लाइमस्टोन’ ले बनेको हो । टेथिस महासागर टेक्टोनिक प्लेट सर्ने–चल्ने क्रममा वा भनौँ ‘अप–हिभल’ सिद्धान्त अनुसार सगरमाथा हिमालले अहिलेको रूपमा आकार लिएको हो । अहिले अस्तित्वमा नरहेको ‘टेथिस महासागर’ त्यो बेला आजको एसिया, उत्तर अफ्रिका, अरब मुलुक र भारत रहेको क्षेत्रसम्म फैलिएको थियो । करिब ४०–४१ मिलियन वर्षअघि ‘टेथिस महासागर’ उत्तरतर्फ सर्दै गएर आजको आल्पस पर्वतमालाका साथै हिमालय पर्वत माला बनेको हो । त्यस्तै गरेर करिब ८०–८१ मिलियन वर्षअघिको समयमा आजको भारत छ हजार चार सय किलोमिटर दक्षिणको युरेसिया प्लेटमा रहेको थियो ।
साथै सगरमाथा हिमाल आरोहणको इतिहास हेर्दाखेरि सन् १९२१ सम्म पुग्नुपर्ने हुन्छ । त्यस यता सन् २०२४ को वसन्त ऋतुसम्म नेपाललगायत विभिन्न देशका करिब आठ हजार पर्वतारोहीले १२–१३ हजार बढी पटक आरोहण गरेका छन् । त्यसको कारण भनेको माथि नै एक प्रसङ्गमा भनिए झैँ एकै जना पर्वतारोहीले एकभन्दा बढी पटक सगरमाथा आरोहण गरेका छन् । त्यसो त सगरमाथा हिमाल केवल आरोहीका लागि मात्रै आकर्षणको विषय नभएर सगरमाथा आरोहण गर्न अनुमतिपत्र वा भनौँ परमिट जारी गरेबापत कमाइ गर्ने नेपाल सरकारका साथै सगरमाथा हिमाल आरोहण गराउने विभिन्न पर्वतारोही कम्पनीका लागि पनि धेरै आकर्षणको विषय बनेको छ । यसो हुनुको कारण नेपाल सरकाले सगरमाथा आरोहण गर्न आउने विभिन्न देशका पर्वतारोहीबाट अत्यधिक सलामी दस्तुर सङ्कलन गर्ने गर्छ । त्यस्तै विभिन्न देशका पर्वतारोहीलाई सगरमाथा हिमाल आरोहण गर्न आकर्षित गर्दै विभिन्न सञ्चार माध्यममा विज्ञापन निकाले आह्वान गर्दै नेपालसम्म ल्याएर सगरमाथा आरोहण गराउने स्वदेशी तथा विदेशी पर्तारोहण कम्पनीले पनि ठुलो मात्रामा कमाइ गर्ने गरेको छ । त्यस्तै सगरमाथा आरोहीका साथमा जाने कुक, किचेन ब्वाई, पोस्ट म्यान, एल्टिच्युड पोर्टर, सम्पर्क अधिकृत, लुक्ला तथा नाम्चे बजारबाट भारी खेप्ने–बोक्ने याक–नाक र चौँरीको गोठालोसमेत गर्दा कम्तीमा पनि दुई हजार जनाले बर्सेनि रूपमा राम्रै कमाइ गर्ने गर्छन् । त्यसो त नेपाल सरकारले मात्रै सगरमाथा हिमाल आरोहण गर्न अनुमति जारी गरेबापत बर्सेनि ७५ करोडसम्म आम्दानी गरिरहेको देखिन्छ । त्यसैले सगरमाथा हिमालले प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा बर्सेनि अर्बौं रकम बराबरको विदेशी मुद्रा आय आर्जन गरिरहेको देखिन्छ ।
तर सगरमाथा हिमाललाई दीर्घकालसम्म बचाउनका लागि अब हामी लागी पर्ने कि नपर्ने ? भन्ने गम्भीर प्रश्न खडा भएको छ । त्यसैले सगरमाथा हिमालको कमाइबाट हामी मक्ख मात्रै नपरेर सगरमाथा हिमालको दिगोपना र दीर्घकालसम्म बचाइराख्नेतर्फ हामीले तत्कालै केही न केही कदम चाल्नु पर्छ । बिबिसी नेपाली सेवाको पछिल्लो रिपोर्ट अनुसार सगरमाथा हिमालको आसपास रहेका हिम नदीमा विगत दुई हजार वर्षदेखि जमेर रहेको बरफ केही वर्षदेखि तीव्र्र गतिमा पग्लन सुरु भएको छ । सो रिपोर्टमा जनाइए अनुसार सात हजार नौ सय मिटरको उचाइमा रहेको ‘साउथ कोल’ र त्यस वरिपरि रहेको ‘ग्लेसियर’को बरफ पग्लिने क्रम पनि ८० गुणाले छिटो रहेको देखाएको छ । यसले सगरमाथा हिमालको भविष्यप्रति सङ्केत गर्दै छ ।
अब सगरमाथा हिमालको आयु छोट्टिँदै छ, सगरमाथा हिमालको आयु घट्दै छ । त्यसैले सोचौँ त, केही गरी सगमारथा हिमालको आयु लामो समयसम्म रहेन भने के होला ? वा सगरमाथा हिमालको आयु लामो समयसम्म नै रहे पनि सगमाथा हिमालमा हिउँ पर्न छाड्यो अथवा बरफ जम्न छाड्यो भने ढुङ्गै–ढङ्गा र कडा चट्टानी भिर–पहराका बाटो भएर मात्रै सगरमाथा हिमालको शिरमा पुग्न पर्वतारोहीलाई पनि धेरै गाह्रो र असम्भव जस्तै हुने छ । त्यस्तै यो वर्षको वसन्त ऋतुमा ३१ औँ पटक सगरमाथा आरोहण गर्न सफल हुनु भएका कामीरिता शेर्पाका अनुसार पहिले पहिले जुन महिनाको ५/६ तारिखसम्म पनि बरफ जमेर धेरै कडा रूपमा रहन्थ्यो, बरफ जमेको हुन्थ्यो । फलतः बरफमा गाडेको ‘आइस स्क्रु’ निकाल्न गाह्रो हुन्थ्यो तर अहिले त मे महिनाको २६/२७ तारिखतिरै सगरमाथाको क्याम्प–२ मै खोला बग्न थालेको (हिउँ पग्लेर पानी बग्न थालेको) देखेको बताउनुभएको थियो । त्यसैले बेला छँदैखेरि हामी सबैले सगरमाथा हिमालको दिगोपना र लामो आयु राख्ने सम्बन्धमा गम्भीर छलफल गर्न जरुरी छ । सरकार र सरोकारवालाले पनि यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।