• १८ असार २०८१, मङ्गलबार

देशलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी गराउन खोजियो

blog

कबिन्द्र नेपाल

मणिग्राम (रुपन्देही), असार १ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले देशलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी गराउन खोजेको आरोप लगाउनु भएको छ । नेपालको असंलग्न परराष्ट्र नीति विपरित अमेरिकासँग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौता गर्न खोजेको बताउँदै महासचिव पोखरेलले आपत्ति जनाउनुभयो । 

प्रेस चौतारी नेपाल रुपन्देही शाखाले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमाले कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘नेपालको असंलग्न परराष्ट्र नीति विपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई लग्ने गलत काम भैरहेको छ, कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन ।’ 

मुलुकको विकास र समृद्धिका लागि बलियो शक्तिको आवश्यकता रहेको बताउँदै उहाँले गठबन्धनको राजनीति नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने राजनीति भएकाले आफूहरू त्यसको विपक्षमा रहेको बताउनुभयो ।  

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनुभएका एमाले महासचिव पोखरेलले लुम्बिनी प्रदेश सरकारका राज्यमन्त्री विमला वलीका बारेमा आएका टीकाटिप्पणीमा सरकार बेखवर हुन नपाउने टिप्पणी गर्नुभयो ।