रमेश विश्वकर्मा
गुल्मी, असार ५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको मुख्यमन्त्री आचार्यले बताउनुभएको छ ।
सन् १९०७ मा विश्वमा र वि.सं. २००९ (सन् १९५२) मा नेपालमा सुरु भएको स्काउट अभियान सात दशक पार गरिसकेको समेत स्मरण गर्नुभयो । उहाँले स्काउटको माध्यमबाट बाल्यकालदेखि नै चरित्र निर्माण, नैतिकता, आत्मनिर्भरता, विपद् व्यवस्थापन, साहसिक गतिविधि, सामुदायिक सेवा तथा स्वयंसेवी भावना विकास हुँदै आएको बताउनुभयो ।
कोभिड–१९ महामारीका बेला स्काउट स्वयंसेवकहरूले जुनसुकै घडीमा अग्रपंक्तिमा खटिएर पुर्याएको योगदान प्रति मुख्यमन्त्री आचार्यले प्रशंसा र धन्यवाद प्रकट गर्नुभएको छ ।
नेपाल स्काउट एक अनौपचारिक शिक्षामूलक संस्था भएकाले यसले बालबालिका तथा युवाहरूको सर्वांगीण विकासमा ठूलो भूमिका खेलेको उहाँको भनाइ छ । प्रदेश, पालिका र विद्यालयसम्म स्काउट अभियान विस्तार हुनु र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूमा सहभागीता बढ्नु सकारात्मक उपलब्धि भएको उहाँको उल्लेख छ ।
वि.सं. २०७७ कात्तिक ६ गतेदेखि प्रदेश संरचनामा स्काउट स्थापना भई जिम्मेवारी निर्वाह भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहमा स्काउटको सञ्जाल विस्तार भइसकेको जानकारी दिनुभयो ।
स्काउट अभियानको उद्देश्य, सिद्धान्त र कार्यक्रमहरूमा लुम्बिनी प्रदेश सरकारको पूर्ण समर्थन रहने विश्वास पनि उहाँले दिलाउनुभयो । उहाँले स्काउट शिक्षामार्फत प्रत्येक बालबालिका तथा युवालाई सक्षम, आत्मनिर्भर र राष्ट्रप्रेमी बनाई विपद् व्यवस्थापन तथा सामाजिक चेतनाका क्षेत्रमा “फस्र्ट रिस्पोन्डर” को रूपमा परिचालन गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ ।