गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३१ गते । बैङ्किङ क्षेत्रको सुधारका लागि नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । बैङ्किङ क्षेत्रका विद्यमान समस्या समाधानका लागि सुझाव दिन नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा बैङ्कर भुवन दहाल र राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल रहनुभएको छ ।
राष्ट्र बैङ्कले कार्यदललाई एक महिनाको समय तोकेर केही कार्यादेश पनि दिएको छ । बैङ्किङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैङ्किङ सेवाको विकाससम्बन्धी कार्यदलले सुझाव दिने राष्ट्र बैङ्कले जनाएको छ ।
यस्तै आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, बैङ्क तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानको सुझाव, नेपाललाई ग्रे लिस्टबाट हटाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजी बजार विकासमा केन्द्रीय बैङ्कको समन्वयात्मक भूमिकासम्बन्धी कार्यदलले अध्ययन गरेर सुझाव दिने राष्ट्र बैङ्कले जनाएको छ ।
यसैबिच नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेकोप्रति बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ । नेपालको बैङ्किङ इतिहासमा पहिलो पटक बैङ्किङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा कार्यदल गठन हुनु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष रहेको छ ।
सरोकारवालासँग सघन छलफल तथा संवाद गर्दै बैङ्किङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्नका लागि राष्ट्र बैङ्कबाट भइरहेको स्थलगत भ्रमण तथा अध्ययन, व्यवस्थापन/सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिको समीक्षा गर्ने, हालै जारी वित्त नीतिको मर्म, वर्तमान आवश्यकता एवं अपेक्षाका आधारमा समयसापेक्ष मौद्रिक नीति ल्याई अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्याको निदान गर्न महत्वपूर्ण भूमिका कार्यदलले खेल्ने सिबिफिनको अपेक्षा छ ।
कार्यदलले गर्ने हरेक अध्ययन, अनुसन्धान, छलफल तथा संवादका प्रक्रियामा सामेल भई खोजमूलक अध्ययनका आधारमा तर्कपूर्ण सुझावका साथमा कार्यदलसमक्ष आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्न तथा अभिभावकीय संस्था नेपाल राष्ट्र बैङ्कले लिएका र लिने दूरगामी योजना तथा नीतिको कार्यान्वयनमा अभिन्न सहयोगीको भूमिका निर्वाह गर्न सदैव तत्पर रहने प्रतिबद्धता पनि सिबिफिनले गरेको छ ।