ठाकुरप्रसाद आचार्य
बेनी (म्याग्दी), जेठ ३० गते । बेनी नगरपालिका–५, डडुवाकी रामकुमारी खत्रीलाई घरखर्च सकिँदा कुनै चिन्ता हुँदैन । दैनिक घरखर्च चलाउने पैसा सकियो भने उहाँ मौरीको घार खोलेर मह निकाल्नुहुन्छ र गर्जो टार्नुहुन्छ । यसै गरी उहाँका ३० वर्ष बितिसकेका छन् । उहाँ म्याग्दी जिल्लाकै नमुना कृषकमा पर्नुहुन्छ ।
रामकुमारीलाई मौरीको घार विगत ३० वर्षयता बैङ्क जस्तै लाग्ने गरेको छ । सानै उमेरमा विवाह गरेकी रामकुमारीको जीवन मौरीपालनबाट फेरिन धेरै समय पर्खिनु परेन । मौरीपालनबाट उहाँले अहिले वार्षिक रूपमा १५ देखि २० लाख रुपियाँ सजिलै कमाउँदै आउनुभएको छ । उहाँको घरवरिपरि मौरीका घारैघार देखिन्छन् ।
“छोराछोरी हुर्काउने, पढाउने, औषधि उपचारलगायतको घरखर्च चलाउन मलाई कुनै चिन्ता छैन, साथमा पैसा सकियो भने घार खोलेर मह काढ्छु,” उहाँले भन्नुभयो, “मौरीको घार मेरा लागि बैङ्कमा राखेको पैसा जस्तै भएको छ । जतिबेला चाहिन्छ, उति नै बेला निकाल्न पाइने । मह निकाल्यो, पैसा हातमा प¥यो ।” मह बिक्री गरेर नै रामकुमारीले दुई छोरा र एक छोरीलाई स्नातकोत्तरसम्मको शिक्षा दिलाइसक्नुभएको छ । उहाँको जेठो छोरा बैङ्कमा जागिरे हुनुहुन्छ भने एक छोरा र छोरीले घरैमा आमालाई सघाउँदै आउनुभएको छ ।
विसं २०५० तिर रेडियो नेपालमा प्रसारण हुने कृषि कार्यक्रममा मौरीपालनसम्बन्धी जानकारी सुनेर रामकुमारी र उहाँका श्रीमान् मीनबहादुर खत्रीले एउटा घारबाट मौरीपालन व्यवसाय थाल्नुभएको थियो । कृत्रिम आहाराको व्यवस्थापन गर्नु नपरी प्राकृतिक चरणबाटै अहिले दुई सय मौरीका घारबाट रामकुमारीले मह उत्पादन गर्दै आउनुभएको छ । रामकुमारी जिल्लामै पहिलो मौरीपालक कृषक हुनुहुन्छ । खत्रीकहाँबाटै घार लगेर जिल्लाका अन्य किसानले पनि मौरीपालन व्यवसाय थालेका छन् । मौरीपालन व्यवसाय गर्ने रुचि भएकाले काठमाडौँको गोदावरीमा गएर रामकुमारीका श्रीमान्ले एक हप्ताका तालिम लिएपछि मौरी पाल्न सहज भएको खत्री दम्पतीको भनाइ छ ।
रामकुमारीका श्रीमान् मीनबहादुर खत्री स्थानीय ज्योति आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । रामकुमारीले अहिले पनि श्रीमान्को शिक्षक पेसाभन्दा धेरै पैसा मह बिक्री गरेर कमाउनुहुन्छ । दुई छोरा र एक छोरीलाई समेत मौरीपालनको ज्ञान र सिप रामकुमारीले सिकाउनुभएको छ । घरमै भएका छोराछोरीले आमालाई सघाउँदै आउनुभएको छ । छोरा सुरेशले भन्नुभयो, “आमाले काम गरेको देखेर मैले पनि मौरी स्याहार्न सिकेको छु । मौरीको हेरचाह र मह निकाल्ने तरिका मलाई आमाले सिकाउनुभएको छ ।”
रामकुमारी खत्रीले करिब दुई सय मौरीका घारबाट वार्षिक पाँच सय केजीसम्म मह उत्पादन गर्दै आउनुभएको छ । मह प्रतिकेजी एक हजार आठ सय रुपियाँमा बिक्री हुने उहाँ बताउनुहुन्छ । महको माग अनुसार पु¥याउन कठिन भएको उहाँको भनाइ छ । पछिल्ला केही वर्ष रामकुमारीले मौरीका घारसमेत बिक्री गर्दै आउनुभएको छ । मौरीसहित प्रतिघार नौ हजार पाँच सयदेखि १० हजार रुपियाँसम्ममा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । वार्षिक रूपमा तीन सय घारको माग आए पनि एक सयसम्म घार बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।
मह र घार बिक्री गरेर वार्षिक रूपमा १५ देखि २० लाख रुपियाँसम्म आम्दानी हुने रामकुमारीले सुनाउनुभयो । वर्षमा तीन पटक मङ्सिर, फागुन र जेठमा मह निकाल्ने उहाँले बताउनुभयो । एउटा घारबाट बढीमा छ केजीसम्म मह उत्पादन हुने उहाँले बताउनुभयो । मह बिक्री गरेर रामकुमारीले पोखरा र चितवनमा गरेर करिब डेढ करोड रुपियाँ बराबरको जग्गाजमिन जोड्नुभएको छ ।