• ३० जेठ २०८२, शुक्रबार

विवाह स्थल बन्दै गढीमाई मन्दिर

blog

गढीमाई मन्दिरमा एकै पटक चार वटा बिहे हुँदै । तस्बिर : शिवशङ्कर मिश्र

बारा समाचारदाता

बारा, जेठ २९ गते  । पछिल्लो समय बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर विवाह स्थलका रूपमा पहिलो छनोटमा पर्न थालेको छ । यहाँ कम समय र कम खर्चमा विवाह सम्पन्न गर्न सकिने भएकाले पनि नेपाललगायत भारतका कतिपय जोडीले यहीँ आएर विवाह गर्न थालेका छन् ।  

मधेश प्रदेशका बारा, पर्सा, रौतहटलगायतका भारतका बिहार राज्यका रक्सौल, आदापुर, छौडादानो, मोतीहारी, बनकटवा, घोडासाहनलगायतका ठाउँबाट बेहुला र बेहुली आउने गरेको मन्दिरका पुजारी मङ्ल चौधरीले बताउनुभयो ।

नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले मन्दिरमा विवाह गर्दा कम खर्च र समयमा सम्पन्न हुने भएकाले पनि स्थानीयको पहिलो छनोटमा मन्दिर परिसर पर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ सबै वर्ग र जातिका मानिस आउन थालेका छन् ।” मूल पुजारी मङ्गल चौधरीले मन्दिरमा दैनिक चार÷पाँच वटा बिहे हुने गरेको बताउनुभयो । 

यहाँ आएर विवाह गर्दा बेहुला पक्षबाट पाँच सय र बेहुली पक्षबाट तीन सय रुपियाँ आर्थिक सहयोगका रूपमा उठाउने गरेको गढीमाई विकास समितिले जनाएको छ । 

समितिका सदस्य हरेन्द्र साहले भन्नुभयो, “त्यति शुल्क तिरेपछि धर्मशाला, बिजुली, पानी र सुरक्षालगायतका सेवा उपलब्ध हुन्छन् ।” त्यस्तै बिहे गराउने पुरोहितले भने एउटा बिहेका लागि एक हजारदेखि तीन हजार रुपियाँसम्म लिने गरेको शम्भु शुक्लाले बताउनुभयो । त्यस्तै वीरगन्जको गहवा, राधेमाई, गीता, विन्ध्यवासिनी मन्दिरमा पनि साइतको दिनमा बिहे हुने गरेको वीरगन्ज महानगरपालिका–११ का दीपेन्द्र गिरीले बताउनुभयो ।