• ३० जेठ २०८२, शुक्रबार

‘संविधान र विधान मिच्ने प्रवृत्ति लोकतन्त्रविपरीत’

blog

नेपाली कांग्रेसका नेता नैनसिंह महर पत्रकार सम्मेलनमा बोल्दै ।

अत्तरिया समाचारदाता 

अत्तरिया (कैलाली), जेठ २९ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले वर्तमान सत्ता गठबन्धनद्वारा बनाइएको ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ र पार्टीभित्र ‘पदाधिकारी बैठक’ का नाममा भइरहेको निर्णय प्रक्रिया ठिक नभएको आरोप लगाउनुभयो । 

नेपाल प्रेस युनियन, कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महरले उहाँले संविधानले नचिनेको संयन्त्रले सरकारलाई निर्देशित गर्ने र विधानले नचिनेको सीमित पदाधिकारी बैठकले समग्र पार्टीलाई चलाउन खोज्ने प्रवृत्ति हाबी भएको गुनासो गर्नुभयो । महरले विगत १० महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको प्रशङ्गमा उहाँले भन्नुभयो, “पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई निष्क्रिय बनाएर केही सीमित शीर्ष पदाधिकारीको तजबिजमा पार्टी चलाउन खोजिएको हो । 

विधानको समयसीमा घर्किंदै जाँदा पनि महाधिवेशनको प्रक्रिया सुरु नहुनुले नियतमाथि शङ्का उत्पन्न गराएको छ । संविधान कार्यान्वयन र जनमुखी कानुन निर्माणमा सांसदको भूमिका कमजोर देखिएकोतर्फ सङ्केत गर्दै उहाँले सांसदलाई थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गर्नुभयो  ।

दशर चन्द मेडिकल विश्वविद्यालयलाई आवश्यक नीति, कानुन निर्माण गरेर यथाशक्य छिटो सञ्चालन गर्नुपर्नेमा महरको जोड थियो । कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहनुभएका महरले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र (हब) बनाउने महìवाकाङ्क्षी योजना रहेको बताउनुभयो ।

“हाम्रा विद्यार्थी मात्र विदेश जाने होइन, अब हामीले विदेशी विद्यार्थीलाई नेपालमा छात्रवृत्ति दिएर अध्ययनका लागि आकर्षित गर्ने नीति लिनु पर्छ,” उहाँले भन्नुभयो, “यहाँबाट ज्ञान लिएर फर्किने विदेशी विद्यार्थी संसारभर नेपालका लागि अवैतनिक राजदूत बन्ने छन् ।  यसले हाम्रो जनपक्षीय कामलाई विश्वव्यापी बनाउन महत्वपूर्ण योगदान गर्ने छ ।”