• ३० जेठ २०८२, शुक्रबार

गर्भपतन गराएको आरोपमा सासु–ससुरा पक्राउ

blog

सुधा देव

भारदह (सप्तरी), जेठ २९ गते । सप्तरीमा बुहारीको गर्भपतन गराएको आरोपमा सासु ससुरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका –२ सकरदहीका परमेश्वरदेवी खंग र चुलबुल देवी खंग रहेका छन् ।

उनीहरूमाथि १७ हप्ताको गर्भवती रहेकी बुहारी अनिषा खंगलाई गर्भपतन गराउने उद्देश्यले जबर्जस्ती औषधी खुवाएर गर्भपतन गराएको आरोप रहेकाले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उनीहरु बुधबार पक्राउ परेका छन् ।

सासू र काकी सासु सीता खंगले मंगलबार राति जबर्जस्ती बलप्रयोग गरेर गर्भपतन हुने औषधी खुवाएको अनिषाले गुनासो गर्नुभयो । औषधी खुवाउने क्रममा भाग्ने प्रयास गर्दा पनि नसकेपछि राति प्रसव पीडाले छटपटाएको बेला स्थानीयको सहयोगमा प्रहरीमा आएको पीडितले बताउनुभयो । प्रहरीले स्वास्थ्य अवस्था गम्भीर देखेपछि तत्काल स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए ।

पीडाले छटपटाइरहेको बेला अत्यधिक रक्तश्राव भइरहेको बेला अस्पताल आएसँगै उपचारको क्रममा गर्भपतन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले बताउनुभयो । उहाँको सासू समेत अनुसन्धानको दायरामा छिन् । 

यस्तो गलत काम गर्नेहरुलाई कानुनी कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।