• ३० जेठ २०८२, शुक्रबार

अनाथालय–तिखातल सडक कालोपत्रे

blog

अनाथालय–तिखातल सडक कालोपत्रे गरिँदै । तस्बिर : बाबुराम शर्मा

दोलखा समाचारदाता

दोलखा, जेठ २९ गते  । लामोसाँघु–जिरी र दोलखा–लामाबगर सडक जोड्ने चव्रmपथका रूपमा रहेको अनाथालय–तिखातल सडक कालोपत्रे गर्न सुरु भएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाइपास सडक भनेर चिनिने साढे चार किलोमिटरमध्ये यो वर्ष एक हजार पाँच सय मिटर सडक कालोपत्रे गर्न सुरु भएको भीमेश्वर नगरपालिकाका इन्जिनियर रामजी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ट्र्याक खोलिदिएको सो सडकमा बागमती प्रदेश र भीमेश्वर नगरपालिकाको लागत सहभागिता ५०/५० प्रतिशत गरी तीन करोड ७७ लाख रुपियाँमा कालोपत्रे सुरु गरिएको हो । एक हजार पाँच सयमध्ये एक हजार दुई सय मिटर कालोपत्र भइसकेको छ । बाँकी तीन सय मिटर यसै साता सम्पन्न गर्ने गरी काम भइरहेको छ । 

आरआर कस्तुरी जेभी निर्माण कम्पनीले दुई करोड आठ लाख रुपियाँमा कालोपत्रेका लागि ठेक्का सम्झौता गरेको हो । दुई किलोमिटर बेस कोर्स पनि भएको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ मा बाँकी तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको इन्जिनियर थापाले जानकारी दिनुभयो । चरीकोट–लामाबगरतर्फ जाने ठुला सवारीसाधन यही सडकबाट जाने÷आउने गरेका छन् । वडा नम्बर २, ३ र ६ जोडेर आवतजावत गर्ने वैकल्पिक मुख्य सडकका रूपमा यो चव्रmपथ रहेको पनि उहाँले बताउनुभयो ।